काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । सरकारमा सहभागी नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएर समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका बानियाँले सरकार जोगाउन विश्वासको मत लिन लागेका हुन् ।
संवैधानिक व्यवस्थाअनुसार अल्पमतमा परेका मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ । विश्वासको मत प्राप्त गरे वर्तमान सरकार निरन्तर रहनेछ भने मत प्राप्त गर्न नसके मुख्यमन्त्री पदमुक्त हुनेछन् ।
बागमती प्रदेश सभामा १०४ सांसद छन् । सरकार टिकाउन कम्तीमा ५३ सांसदको समर्थन आवश्यक पर्छ । नेपाली कांग्रेससँग ३६ र हाम्रो नेपाली पार्टीसँग २ गरी सत्तापक्षसँग ३८ सांसद छन् । बहुमतका लागि थप १५ सांसदको समर्थन आवश्यक पर्ने देखिन्छ ।
राप्रपा र नेमकिपाको मत निर्णायक
कांग्रेसले नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाहेकका दलबाट समर्थन जुटाउने प्रयास गरिरहेको छ । अहिले कांग्रेसको मुख्य नजर १२ सांसद रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र ३ सांसद रहेको नेपाल मजदुर किसान पार्टी (नेमकिपा)मा छ ।
यी दुवै दलको समर्थन प्राप्त भए कांग्रेस नेतृत्वको सरकारले आवश्यक बहुमत जुटाउन सक्ने अवस्था छ । तर राप्रपा र नेमकिपाले विश्वासको मतबारे अहिलेसम्म स्पष्ट निर्णय गरेका छैनन् ।
राप्रपाले तत्काल सरकारमा सहभागी नहुने निर्णय गरिसकेको छ । तर विश्वासको मतमा कांग्रेस नेतृत्वको सरकारलाई साथ दिने वा नयाँ गठबन्धनको पक्षमा जाने भन्नेबारे उसले निर्णय गरिसकेको छैन ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेशको आवश्यकता र परिस्थितिअनुसार निर्णय गर्ने बताउँदै आएका छन् । यता नेमकिपाले पनि सरकारमा सहभागी हुने सम्भावना न्यून भए पनि सरकार गठनमा भूमिका खेल्ने विकल्प खुला राखेको छ ।
नेमकिपा बागमती प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज गोसाइँले विगतका कमजोरी सच्याएर जनपक्षीय सरकार बन्ने अवस्था आए सहयोगबारे सोच्न सकिने बताएका छन् ।
बहुमत जुट्नेमा बानियाँ स्वयं ढुक्क छैनन्
मुख्यमन्त्री बानियाँले विश्वासको मतका लागि सबै दलसँग आग्रह गरिरहेको भए पनि ५३ मत जुट्ने आधार अझै स्पष्ट नभएको बताएका छन् ।
“विश्वासको मतको लागि सबै दललाई अनुरोध गरेको छु । तर ५३ अंक प्राप्त गर्न सक्छु भन्ने आधार तय भएको छैन,” बानियाँले भनेका छन् ।
एमाले र नेकपाबीच नयाँ सरकार गठनका लागि राजनीतिक सहमति भइसकेको अवस्थामा आफ्नो नेतृत्वको सरकारले निरन्तरता पाउने निश्चित नभएको उनको भनाइ छ ।
विश्वासको मत प्राप्त गर्न नसके सदनलाई सम्बोधन गरेर राजीनामा दिने र नयाँ सरकार गठनका लागि बाटो खोल्ने बानियाँले बताएका छन् ।
बानियाँ २० साउन २०८२ मा बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । उनी प्रदेशका छैठौँ मुख्यमन्त्री हुन् ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्