विराटनगर । सत्ता साझेदार नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच कोशी प्रदेश मन्त्रिपरिषद् विस्तार सोमबारसम्म गर्ने सहमति कार्यान्वयन हुन सकेन। नेकपाले मन्त्री बन्ने सांसदहरूको नाम टुङ्गो लगाउन नसकेपछि मन्त्रिपरिषद् विस्तार रोकिएको हो।
कोशी प्रदेशसभामा रहेका नेकपाका १७ सांसदमध्ये १५ जना मन्त्रीका आकाङ्क्षी बनेका छन्। स्रोतका अनुसार आइतबार बसेको नेकपा संसदीय दलको बैठकमा १५ जनाले मन्त्री बन्ने दाबी गरेका थिए। संसदीय दलका नेता इन्द्र आङ्बो र पार्टी इन्चार्ज तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले भने मन्त्रीमा दाबी नगरेको बताइएको छ।
एमालेसँग मन्त्रालयको सङ्ख्या र बाँडफाँडमा सहमति भएपछि सोमबार नै नेकपाका तर्फबाट मन्त्री नियुक्त गर्ने तयारी थियो। तर, आकाङ्क्षीको सङ्ख्या धेरै भएपछि करिब तीन घण्टा बसेको संसदीय दलको बैठकसमेत निष्कर्षविहीन बनेको हो।
प्रदेश कमिटीले मन्त्री छनोट गर्ने
संसदीय दलको बैठकमा सहमति जुट्न नसकेपछि नेकपा कोशी प्रदेश कमिटी सचिवालयको बैठकबाट मन्त्री छनोट गर्ने सहमति भएको छ।
नेकपा सचिवालय कमिटी कोशीका सदस्य परशुराम बस्नेतले मन्त्री छनोटबारे अझै सहमति नजुटेको बताए। उनका अनुसार मंगलबारसम्ममा नाम टुङ्गो लगाउने तयारी छ।
स्रोतका अनुसार तत्कालीन नेकपा एकीकृत समाजवादीको तर्फबाट प्रदेशसभा सदस्य रहेकी खिनु लङ्वाको नाम भने लगभग निश्चित भएको छ। उनी यसअघि पनि प्रदेश सरकारमा मन्त्री भइसकेकी छन्।
त्यस्तै, सोलुखुम्बुबाट निर्वाचित गोम्बु शेर्पाको नाम पनि मन्त्रीका रूपमा चर्चामा छ।
सरकारको नेतृत्वमा पनि प्रतिस्पर्धा
एमालेसँगको भागबन्डामा नेकपाले चार वटा मन्त्रालय पाउने सहमति भए पनि ती मन्त्रालयमा कसलाई पठाउने भन्ने विषयमा आन्तरिक विवाद देखिएको छ।
त्यसैगरी, नेकपाको तर्फबाट प्रदेश सरकारमा नेतृत्व गर्ने विषयमा पनि नेताहरूबीच प्रतिस्पर्धा छ। पूर्वसभामुख बाबुराम गौतम, प्रदेशसभा सदस्य जीवन आचार्य र पूर्वमन्त्री दुर्गा चापागाईंले सरकारको नेतृत्वका लागि सक्रिय रूपमा लबिङ गरिरहेको स्रोतको दाबी छ।
अब प्रदेश कमिटी सचिवालयले आकाङ्क्षीमध्येबाट मन्त्री छनोट गरेपछि मात्रै कोशी प्रदेश मन्त्रिपरिषद् विस्तारको बाटो खुल्नेछ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्