ललितपुर । ललितपुर महानगरपालिकाले ७.९ किलोमिटर लामो चक्रपथ क्षेत्रमा स्मार्ट स्ट्रिट लाइट जडान गरेको छ। बालकुमारीदेखि बल्खु हुँदै सानेपासम्मको सडकखण्डमा स्मार्ट स्ट्रिट लाइट जडान गरिएको महानगरपालिकाले जनाएको छ।
महानगरका मेयर चिरिबाबु महर्जनका अनुसार नेपालमै पहिलोपटक ललितपुर महानगरपालिकाले स्मार्ट स्ट्रिट लाइट जडान गरेको हो। जडान कार्य सम्पन्न भइसकेको र बुधबार साँझ बालकुमारी पुलबाट बत्ती बालेर यसको औपचारिक उद्घाटन गरिने उनले बताए।
महर्जनका अनुसार चक्रपथबाहेक महानगरपालिकाका मुख्य सडकहरूमा समेत स्मार्ट स्ट्रिट लाइट जडान गरिसकिएको छ। चक्रपथ क्षेत्रमा बत्ती सञ्चालनमा आएपछि ललितपुर महानगर रातिको समयमा थप उज्यालो र सुरक्षित हुने उनको भनाइ छ।
स्मार्ट स्ट्रिट लाइट सञ्चालनपछि रातिको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने यात्रुले दक्षिणतर्फबाट हेर्दा ललितपुर क्षेत्र उज्यालो देखिने मेयर महर्जनले बताए।
‘बत्ती बलिसकेपछि रातिको समयमा विमानस्थलमा अवतरण गर्ने यात्रुले दक्षिणतर्फ हेर्दा उज्यालो देखिने शहर ललितपुर महानगरपालिका हुनेछ,’ उनले भने।
महानगरपालिकाले स्मार्ट स्ट्रिट लाइटलाई शहरी पूर्वाधारको विकाससँगै रात्रिकालीन सुरक्षा तथा सडकको सौन्दर्य सुधार गर्ने योजनाका रूपमा अघि बढाएको जनाएको छ।
बुधबार साँझ बालकुमारी पुलबाट हुने उद्घाटन कार्यक्रममा विभिन्न व्यक्तित्वलाई आमन्त्रण गरिएको महानगरपालिकाले जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्