काठमाडौं । सरकारसँग वार्ता र सहमति भएपछि वैदेशिक रोजगार व्यवसायीले घोषणा गरेका आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन्।
युवा, श्रम तथा रोजगार मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सञ्चालन गर्दै आएका सम्पूर्ण दबाबमूलक कार्यक्रम आजैदेखि अन्त्य गर्ने प्रतिबद्धता जनाएको जानकारी दिएको हो।
संघले साउन २२ गतेदेखि वैदेशिक रोजगार क्षेत्रसँग सम्बन्धित १५ बुँदे माग राख्दै आन्दोलन सुरु गरेको थियो। माग सम्बोधन नभए भदौ १ गतेदेखि वैदेशिक रोजगारीमा कामदार पठाउने कार्य बन्द गर्ने चेतावनी संघले दिएको थियो।
तर सोमबार श्रम मन्त्रालयमा भएको वार्तापछि व्यवसायीले आन्दोलन फिर्ता लिएका हुन्।
वार्तामा श्रममन्त्री रामजी यादव, श्रम सचिव दीपक काफ्ले तथा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष, सल्लाहकारलगायत पदाधिकारी सहभागी थिए।
वार्तामा सरकारी पक्षले व्यवसायीले उठाएका अधिकांश माग नीतिगत विषयसँग सम्बन्धित रहेको र ती विषय वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधन प्रक्रियामा समावेश भइरहेको जानकारी दिएको मन्त्रालयले जनाएको छ।
वैदेशिक रोजगारीको क्षेत्रलाई थप पारदर्शी, सुरक्षित र मर्यादित बनाउन ऐन तथा नियमावली संशोधनको प्रक्रिया यथाशीघ्र टुंग्याउन अधिकतम प्रयास गर्ने सहमति भएको मन्त्रालयले जनाएको छ।
त्यस्तै, व्यवसायीले आफ्ना मागका सम्बन्धमा थप प्रमाण तथा कागजातसहित वैदेशिक रोजगार विभागमा निवेदन दिए आवश्यक प्रशासनिक सहजीकरण गर्ने सहमति भएको छ। विभागबाट समाधान हुन नसके कानुनबमोजिम मन्त्रालयमा पुनरावेदन गर्न सकिने व्यवस्था रहेकाले सोही प्रक्रियाबाट अघि बढ्ने सहमति भएको मन्त्रालयले जनाएको छ।
वार्तापछि संघले आफ्ना सबै दबाबमूलक कार्यक्रम अन्त्य गर्ने प्रतिबद्धता जनाएसँगै वैदेशिक रोजगारीमा कामदार पठाउने प्रक्रिया तत्काल नरोकिइने भएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्