ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बलेवा कालभैरव : आस्था, परम्परा र कृषिसंस्कृतिको संगम बनेको हरेलो मेला


ABC NEWS
१ भदौ २०८३, सोमबार   ८ : ०५   बजे

बागलुङ । गण्डकी प्रदेशको बागलुङ नगरपालिका–१२ बलेवामा अवस्थित ऐतिहासिक कालभैरव मन्दिर धार्मिक आस्था, सांस्कृतिक परम्परा र प्राकृतिक सौन्दर्यको अद्वितीय संगमका रूपमा परिचित छ। बागलुङसहित आसपासका जिल्लाका भक्तजन मात्र होइन, देशका विभिन्न स्थानबाट समेत दर्शनार्थीहरू यहाँ पुग्ने गरेका छन्।

भगवान शिवको उग्र स्वरूपका रूपमा पूजिने भैरवलाई हिन्दू धार्मिक परम्परामा शक्ति, संरक्षण र सीमाको रक्षक देवताका रूपमा मानिन्छ। शिवपुराणको विद्येश्वर संहितामा समेत भैरवको उत्पत्तिसम्बन्धी प्रसंग उल्लेख गरिएको पाइन्छ। कालमाथि पनि नियन्त्रण राख्ने देवताका रूपमा भैरवलाई ‘कालभैरव’ तथा ‘महाकाल’ नामले समेत पुकारिन्छ।

बलेवा कालभैरवप्रतिको स्थानीय आस्था पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको छ। यहाँ दैनिक पूजा, भाकल तथा परम्पराअनुसारका धार्मिक अनुष्ठान सञ्चालन हुँदै आएका छन्।

पुर्ख्यौली परम्परादेखि चल्दै आएको पूजा

बलेवा कालभैरव मन्दिरमा सयौँ वर्षदेखि स्थानीय समुदायले आफ्ना पुर्खाले चलाउँदै आएको विधिअनुसार पूजा आराधना गर्दै आएका छन्।

वडादशैँको नवरात्रमा मन्दिरनजिकै रहेको कोतघर र मौलोमा चार जना गुठीयार उपासु बसेर घटस्थापना गर्ने परम्परा छ। यसक्रममा दुर्गा, दियो, कलश तथा हतियारको पूजा गरिन्छ।

त्यस्तै, ज्येष्ठी पूर्णिमामा भूमे थानमा वर्षा होस् भन्ने कामनासहित विशेष पूजा गरिन्छ भने कोजाग्रत पूर्णिमामा पानी नपरोस् भन्ने कामनाका साथ अर्को धार्मिक अनुष्ठान गर्ने परम्परा छ।

स्थानीय विश्वासअनुसार भूमिमा क्षति नहोस्, खेतीपाती सुरक्षित रहोस् र प्राकृतिक विपत्तिबाट जोगिन सकियोस् भन्ने कामनासहित भूमे थानमा गरिने पूजामा भैरवनाथको विशेष आराधना गरिन्छ।

तीन राँगोको परम्परा

इतिहासमा बलेवा कालभैरव मन्दिरमा मुखिया परिवारसँग जोडिएको विशेष पूजाको परम्परा पनि रहेको स्थानीय विवरणमा उल्लेख छ।

बलेवाका जेठा मुखियाको परिवारले जेठो राँगो, माइला मुखियाको परिवारले माइलो राँगो तथा कान्छा मुखियाको परिवारले कान्छो राँगो पूजा गर्ने परम्परा रहेको बताइन्छ।

मुख्य पूजाका लागि बलेवाका विभिन्न क्षेत्रबाट आवश्यक सामग्री संकलन गरिन्थ्यो। उप्रेती, बोहोरा, अखेली, रुचाललगायत समुदायका उपासुहरू विशेष पूजामा सहभागी हुने गरेका थिए।

समयक्रममा पूजाका कतिपय विधि परिवर्तन भए पनि मन्दिरप्रतिको आस्था र धार्मिक महत्व भने निरन्तर रहँदै आएको छ।

गुठीदेखि स्थानीय सरकारसम्मको संरक्षण

बलेवा कालभैरवको धार्मिक तथा सांस्कृतिक महत्वलाई संरक्षण गर्दै मन्दिर क्षेत्रको विकास र प्रवर्द्धनका लागि गुठी संस्थान तथा स्थानीय तहले विभिन्न काम गर्दै आएका छन्।

मन्दिर व्यवस्थापन तथा संरक्षणमा बागलुङ र जैमिनी नगरपालिकाका स्थानीयहरूको समेत सहभागिता रहने गरेको छ।

बलेवा भैरवथान, मूलाबारी र गाजा दहलाई महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा समेत अघि बढाइएको छ। धार्मिक आस्थासँगै यहाँको भूगोल, प्राकृतिक वातावरण, जलवायु, ऐतिहासिक परम्परा तथा स्थानीय संस्कृतिले यस क्षेत्रलाई पर्यटनका दृष्टिले पनि महत्वपूर्ण बनाएको छ।

हरेलो : खेतीपाती सकिएको खुसीको पर्व

बलेवा कालभैरवको धार्मिक महत्वसँग जोडिएको अर्को प्रमुख सांस्कृतिक पर्व हो हरेलो।

भाद्र महिनाको पहिलो मंगलबार हरेलोका दिन भैरवका उपासु तथा स्थानीयहरू मन्दिरमा भेला भएर पूजा आराधना गर्ने, भाकल पूरा गर्ने, बली दिने तथा सामूहिक रूपमा रमाउने परम्परा पछिल्लो समय विस्तार हुँदै मेला बनेको हो।

हरेलो मूलतः कृषि संस्कृतिसँग जोडिएको पर्व हो। रोपाइँ सकिएपछि खेतबारी हरियाली हुने र बालीनाली राम्रोसँग हुर्किन थालेको खुसीयालीमा यो पर्व मनाउने गरिन्छ।

खेतीबालीमा रोग, किरा–फट्याङ्ग्रा, मुसा, बाढी, पहिरो तथा अन्य प्राकृतिक विपत्ति नआओस् भन्ने कामनासमेत हरेलोसँग जोडिएको छ।

खेतीको मुख्य काम सकिएपछि गोरु तथा बाच्छालाई पूजा गर्ने चलन पनि यस पर्वको विशेषता हो।

खेतदेखि भैरवनाथसम्मको पूजा

हरेलोका दिन बलेवामा परिवारका ज्येष्ठ सदस्य वा पूजा गर्ने व्यक्तिले बिहान स्नान गरी चोखो भएर खेतबारीमा पुग्ने परम्परा छ।

खेतको डिल तथा कान्लामा हरियो हाँगा वा खिर्राको डालो गाडिन्छ। भूमि, नाग तथा प्रकृतिका शक्तिको पूजा गरिन्छ। धूप, दीप र धजा चढाइन्छ।

मास, चामल, तोरीलगायतका गेडागुडी पातमा बाँधेर चढाउने तथा सेलरोटी र अन्य परिकार अर्पण गर्ने चलनसमेत छ। पूजापछि प्रसाद वितरण गरिन्छ।

यसरी हरेलोले धर्म र कृषिलाई एकअर्कासँग जोडेको देखिन्छ। खेतमा उब्जिएको अन्नप्रति कृतज्ञता व्यक्त गर्ने र आगामी वर्ष पनि राम्रो उत्पादनको कामना गर्ने सांस्कृतिक अर्थ यसमा जोडिएको छ।

हरेलो मेला बन्दै गएको परम्परा

स्थानीय परिवार र आफन्तहरूबीचको भेटघाट, सामूहिक पूजा, खानपान तथा मनोरञ्जनसँग जोडिएको हरेलो पछिल्ला वर्षमा ठूलो सार्वजनिक उत्सवका रूपमा विकास भइरहेको छ।

२०७९ को स्थानीय तह निर्वाचनपछि बागलुङ नगरपालिकाको अग्रसरता, गुठीको संयोजन तथा स्थानीयको सक्रियतामा हरेलो मेलालाई संस्थागत रूपमा सञ्चालन गर्न थालिएको हो।

यस वर्ष पनि भाद्र महिनाको पहिलो मंगलबार बलेवा भैरवनाथ मन्दिरमा हरेलो मेला आयोजना गर्ने तयारी गरिएको छ।

बागलुङ बजार, कुश्मा, कुश्मीसेरा तथा आसपासका क्षेत्रबाट ठूलो संख्यामा भक्तजन मन्दिर पुग्ने गर्छन्। कतिपय भक्तजन समूह बनाएर पैदलै मन्दिर पुग्ने गरेका छन्।

भाकल पूजा र दर्शनका लागि लामो लाइन लाग्ने भएकाले मेला अवधिमा मन्दिर परिसर निकै व्यस्त हुने गर्छ।

तरबार नाचदेखि छेलोसम्म

हरेलो मेलाको प्रमुख आकर्षणमध्ये तरबार नाच पनि एक हो। स्थानीय परम्परामा यसलाई बाइसे–चौबिसे राज्यकालमा शक्ति प्रदर्शन र युद्धकौशलसँग जोडिएको मानिन्छ।

समयसँगै यसको स्वरूप परिवर्तन भए पनि अहिले स्थानीय समुदायले तरबार समातेर नाच्ने सांस्कृतिक प्रस्तुतिका रूपमा यसलाई संरक्षण गर्दै आएका छन्।

मेलामा लोकभाका, भदौरे नाच तथा छेलो हान्ने खेल समेत सञ्चालन गरिन्छ। यसले धार्मिक अनुष्ठानसँगै स्थानीय मनोरञ्जन र लोकसंस्कृतिलाई पनि जोडेको छ।

बढ्दो आकर्षण, बढ्दो जिम्मेवारी

हरेलो मेलाको लोकप्रियता बढेसँगै पछिल्ला वर्षमा बलेवा कालभैरवमा दर्शनार्थीको संख्या पनि बढ्दै गएको छ। हजारौँ मानिस सहभागी हुन थालेपछि स्थानीय तहले मेला क्षेत्रका लागि स्थानीय बिदासमेत दिने गरेको छ।

तर बढ्दो भीडसँगै मन्दिर क्षेत्रको पूर्वाधार, यातायात, खानेपानी, सरसफाइ, सुरक्षा तथा सांस्कृतिक सम्पदाको संरक्षणमा पनि चुनौती थपिएको छ।

स्थानीय सरोकारवालाहरूले हरेलो मेलालाई एकदिने कार्यक्रमबाट विस्तार गरी पाँच दिनसम्म सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। साथै, समयसँगै हराउँदै गएका पुराना संस्कार, पूजा विधि, लोकनाच, मौलिक खेल र परम्परालाई दस्तावेजीकरण तथा संरक्षण गर्नुपर्ने उनीहरूको जोड छ।

बलेवा कालभैरवको कथा केवल एउटा मन्दिरको कथा होइन। यो धार्मिक आस्था, कृषि जीवन, स्थानीय सत्ता–इतिहास, प्रकृति पूजा, लोकसंस्कृति र सामुदायिक सम्बन्धलाई एउटै सूत्रमा बाँधेको जीवित सांस्कृतिक सम्पदा हो।

त्यसैले हरेलो मेलाको बढ्दो लोकप्रियतालाई केवल भीड र मनोरञ्जनमा सीमित नराखी यसको मौलिकता जोगाउँदै व्यवस्थित धार्मिक तथा सांस्कृतिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्न सके बलेवाको कालभैरव क्षेत्र स्थानीय अर्थतन्त्र र नेपालको सांस्कृतिक पर्यटनका लागि समेत महत्वपूर्ण आधार बन्न सक्छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानन्यायाधीश शर्माका निर्णयविरुद्ध परेका दुवै रिट दर्ता भएनन्

मनोरञ्जन क्षेत्रलाई मर्यादित र सुरक्षित बनाउन श्रमिकको अधिकार सुनिश्चित गर्न माग

सम्बन्धित

एनसेलका विगतका विवाद कानुनअनुसार निरुपण हुन्छन् : सञ्चारमन्त्री तिमिल्सिना

लगानी र व्यवसायिक विश्वास बढाउन निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

रुपाकोट रिसोर्टको आईपीओ निष्कासनका लागि एनआईसी एशिया क्यापिटल नियुक्त

बाढीले पुल बगाएपछि तुइनको सहारामा स्थानीयवासी

आशिकाको व्यवहारप्रति रास्वपाकै सांसदको आपत्ति, आचरण सच्याउन सुझाव

स्याङ्जामा साउनमा २४ अपराधका मुद्दा दर्ता, १९ जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu