काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरब, टर्की र पाकिस्तानबीच भएको रक्षा सम्झौताको स्वागत गरेका छन्। उनले सम्झौतालाई ‘ठूलो, साहसिक र महत्त्वपूर्ण पहिलो कदम’ भन्दै मध्यपूर्वका देशहरू आफ्नो सुरक्षाका लागि एकजुट हुँदै गएको बताएका छन्।
ट्रम्पले सम्झौतामा हस्ताक्षर गर्ने तीनै देशका नेतृत्वलाई बधाईसमेत दिएका छन्।
साउदी अरब, टर्की र पाकिस्तानले अगस्ट ७ मा मक्कामा ‘मक्का संयुक्त रक्षा सम्झौता’ गरेका थिए। सम्झौताअनुसार तीनमध्ये कुनै एक देशमाथि सशस्त्र आक्रमण भए त्यसलाई तीनै देशमाथिको आक्रमणका रूपमा लिइनेछ।
सम्बन्धित देशहरूले भने सम्झौता कुनै विशेष राष्ट्र वा शक्तिविरुद्ध लक्षित नभएको बताएका छन्। पाकिस्तानी विदेशमन्त्री इशाक दारले सम्झौता पूर्ण रूपमा रक्षात्मक रहेको र कुनै विशेष देशलाई लक्षित नगरेको बताएका छन्। टर्कीका अधिकारीहरूले पनि सम्झौता अन्य क्षेत्रीय देशका लागि खुला रहेको बताएका छन्।
सम्झौताको मुख्य उद्देश्य तीन देशबीच सामूहिक सुरक्षा, रक्षा सहकार्य र सम्भावित आक्रमणविरुद्ध प्रतिरोध क्षमता बलियो बनाउनु रहेको बताइएको छ।
भारतको सुरक्षा चासो
नयाँ रक्षा समीकरणले भारतको सुरक्षा चासोसमेत बढाएको छ। विशेषगरी पाकिस्तान सम्झौताको प्रमुख पक्ष भएकाले पश्चिम एसियामा पाकिस्तानको सैन्य तथा रणनीतिक पहुँच विस्तार हुन सक्ने विषयलाई भारतले नजिकबाट नियालिरहेको छ।
भारत र साउदी अरबबीच पछिल्ला वर्षहरूमा ऊर्जा, लगानी, व्यापार तथा सुरक्षा क्षेत्रमा सम्बन्ध विस्तार हुँदै आएको छ। यस्तो अवस्थामा साउदी अरब पाकिस्तानसँग थप नजिकिनु भारतका लागि संवेदनशील विषय बन्न सक्ने विश्लेषण गरिएको छ।
यसअघि साउदी–पाकिस्तान रक्षा सम्झौताबारे प्रतिक्रिया दिँदै भारतले आफ्नो राष्ट्रिय सुरक्षा तथा क्षेत्रीय र विश्वव्यापी स्थिरतामा पर्न सक्ने प्रभावको अध्ययन गर्ने जनाएको थियो। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले भारतले आफ्नो राष्ट्रिय हित र सुरक्षाको रक्षा गर्न आवश्यक सबै कदम चाल्ने बताएका थिए।
टर्की–पाकिस्तान सैन्य सहकार्य
मक्का सम्झौतामा टर्कीसमेत जोडिएपछि भारतको सुरक्षा चासो थप जटिल बन्न सक्ने देखिएको छ। टर्की र पाकिस्तानबीच लामो समयदेखि रक्षा सहकार्य हुँदै आएको छ। टर्कीले पाकिस्तानलाई सैन्य प्रविधि तथा ड्रोन उपलब्ध गराउँदै आएको छ भने दुवै देशले नौसैनिकलगायत विभिन्न सैन्य क्षेत्रमा सहकार्य गर्दै आएका छन्।
साउदी अरब र टर्कीबीच पनि रक्षा सहकार्य विस्तार हुँदै आएको छ। तीन देशबीचको रक्षा सहकार्य आगामी दिनमा थप संस्थागत हुँदै गएमा पश्चिम एसिया र दक्षिण एसियाको सुरक्षा समीकरणमा यसको प्रभाव पर्न सक्ने विश्लेषण गरिएको छ।
यो समाचार द हिन्दु र फर्स्ट पोस्टमा प्रकाशित सामग्रीका आधारमा तयार गरिएको हो।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्