काठमाडौं । नेपाली कांग्रेसनिकट लोकतन्त्रवादी कानुन व्यवसायी एसोसिएसन (डीएलए)को १२औँ महाधिवेशन भदौ १९ र २० गते बुटवलमा हुने भएको छ। महाधिवेशनमा कांग्रेसका शीर्ष नेताहरूलाई एउटै मञ्चमा उपस्थित गराउने तयारी भइरहेको छ।
डीएलए महासचिव ज्ञानेन्द्र अधिकारीका अनुसार महाधिवेशनको तयारी तीव्र रूपमा भइरहेको छ। अहिलेसम्म करिब १ हजार ४ सय महाधिवेशन प्रतिनिधि तय भइसकेका छन्।
यसपटक डीएलएको नेतृत्व चयनमा कांग्रेसको संस्थापन र इतर पक्षनिकट कानुन व्यवसायीबीच प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ।
अध्यक्षमा आधा दर्जन आकांक्षी
अध्यक्ष पदका लागि वरिष्ठ अधिवक्ता लिलामणि पौडेल, एगराज पोखरेल, भरत थापा, केदार कार्की र लक्ष्मी दाहाल रावलको नाम चर्चामा छ।
वरिष्ठ अधिवक्ता पौडेल नेपाल बार एसोसिएसन तथा डीएलएका पूर्वमहासचिव हुन्। कार्की नेपाल बार काउन्सिलका पूर्वपार्षद् तथा नेपाल बार एसोसिएसनका पूर्वकेन्द्रीय सदस्य हुन्। थापा पनि काउन्सिलका पूर्वपार्षद् हुन् भने रावल डीएलएकी पूर्वमहासचिव हुन्।
रावलले मंगलबार आगामी कार्ययोजनासहित अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन्। उनी यसअघि ११औँ महाधिवेशनमा पनि अध्यक्ष पदकी प्रत्यासी थिइन्।
महासचिवमा पनि धेरै दाबेदार
महासचिव पदका लागि पूर्ण बस्नेत, निर्भयराज पौडेल, लक्ष्मण आचार्य, कृष्ण पनेरु, सञ्जिव लामा, धरतबहादुर राउत, रामचन्द्र पौडेल (आरसी) र रविन्द्र प्रधान आकांक्षी देखिएका छन्।
डीएलएको नेतृत्वमा रहिसकेका एक वरिष्ठ अधिवक्ताका अनुसार अध्यक्ष पदमा मध्यमार्गी धारका अग्रज व्यक्तिलाई सर्वसम्मत नेतृत्वमा ल्याउने प्रयाससमेत भइरहेको छ।
प्रतिस्पर्धात्मक बन्ने संकेत
महाधिवेशन प्रतिनिधिहरूले आगामी कार्यकालका लागि डीएलएको नयाँ नेतृत्व चयन गर्नेछन्। संस्थापन र इतर समूहले आ–आफ्नो पक्षमा चुनावी रणनीति बनाउन थालेकाले यसपटकको महाधिवेशन रोचक र प्रतिस्पर्धात्मक हुने सम्भावना देखिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्