काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशन २२ दिनमा सम्पन्न गर्ने गरी नयाँ कार्यतालिका सार्वजनिक गरेको छ। यसअघि करिब ३५ दिनको कार्यतालिका तय गरेको कांग्रेसले तल्लो तहका अधिवेशनको मिति हेरफेर गर्दै नयाँ तालिका ल्याएको हो।
केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेम खड्काका अनुसार भदौ २ देखि १० गतेसम्म काठमाडौँ उपत्यका र बाहिर निर्वाचन अधिकृतलाई अभिमुखीकरण तालिम दिइनेछ। भदौ ११ गते निर्वाचन अधिकृतलाई जिल्लामा खटाइनेछ भने भदौ १५ गते वडामा निर्वाचन प्रतिनिधि पठाइनेछ। भदौ १६ देखि २० गतेसम्म वडा तहमा अभिमुखीकरण तालिम सञ्चालन हुनेछ।
विदेशस्थित जनसम्पर्क समितिका अधिवेशन भदौ मसान्तभित्र सम्पन्न गर्ने कार्यतालिका छ। भदौ २४ गते गाउँ–नगर वडा अधिवेशन र भदौ २७ गते गाउँ–नगरपालिका अधिवेशन हुनेछ।
त्यस्तै, असोज ३ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा एक निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन, असोज ७ गते जिल्ला अधिवेशन र असोज १० गते प्रदेश अधिवेशन गर्ने तालिका तय गरिएको छ।
कांग्रेसको १५औँ महाधिवेशन भने असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुनेछ।
विधानको व्यवस्था निलम्बन
महाधिवेशनको नयाँ कार्यतालिका कार्यान्वयनका लागि कांग्रेसले विधानको धारा ३५ (२) ‘घ’ निलम्बन गरेको छ।
उक्त व्यवस्थामा महाधिवेशन र प्रदेश अधिवेशन हुने वर्षभन्दा कम्तीमा एक वर्षअघि स्थानीय तहका अधिवेशन र कार्यसमिति गठन गरिसक्नुपर्ने उल्लेख छ। साथै, प्रदेश तथा केन्द्रीय महाधिवेशनका प्रतिनिधि सम्बन्धित अधिवेशनभन्दा कम्तीमा तीन महिना अगाडि निर्वाचित हुनुपर्ने व्यवस्था छ।
साउन २१ गते सर्वोच्च अदालतले कांग्रेसको अधिकारिता विवादमा निस्सा दिएपछि साउन २४ देखि भदौ १ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले उक्त व्यवस्था निलम्बन गर्ने निर्णय गरेको हो।
कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार उक्त व्यवस्था कायमै राखेर असोज १६ देखि १९ गतेसम्म महाधिवेशन गर्दा विधानसँग बाझिने भएकाले बाधा अड्काउ फुकाउन धारा निलम्बन गरिएको हो।
असोजमै महाधिवेशन गर्न समयको चाप
गत पुसमा विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा १५३ सदस्यीय केन्द्रीय कार्यसमिति बनेपछि नियमित महाधिवेशनका लागि कांग्रेसमाथि समयको चाप छ। विशेष महाधिवेशनबाट एक वर्षभित्र नियमित महाधिवेशन गर्नुपर्ने वैधानिक व्यवस्थाका कारण पुसअघि नै महाधिवेशन सम्पन्न गर्नुपर्ने अवस्था छ।
सभापति थापाले अदालतको आदेश र पार्टीको निर्णयअनुसार असोज १६ देखि १९ गतेसम्म महाधिवेशन सम्पन्न गरिने बताएका छन्।
‘हामीसँग अब समयको सुविधा छैन। हामी संविधान, पार्टी विधान, विशेष महाधिवेशनले तय गरेको र अदालतले पनि भनेको समयमा बाँधिएका छौँ,’ थापाले भने, ‘थोरै समयमा काम गर्नुपर्नेछ।’
तोकिएको समयमा जिल्ला वा क्षेत्रीय अधिवेशन सम्पन्न गर्न नसके सम्बन्धित जिम्मेवारी खोसिने चेतावनीसमेत थापाले दिएका छन्।
महाधिवेशन व्यवस्थापन समिति गठन
कांग्रेसले १५औँ महाधिवेशन व्यवस्थापनका लागि सभापति थापाको नेतृत्वमा समिति गठन गरेको छ। समितिले आवास, भोजन, मञ्च व्यवस्थापन, अतिथि सत्कार, स्वास्थ्यलगायतका विषयमा विभिन्न उपसमिति गठन गर्ने प्रवक्ता चालिसेले जानकारी दिएका छन्।
महाधिवेशनमा सभापति थापाले ‘आगामी दशक, लोकतन्त्र र कांग्रेस’ विषयमा मुख्य राजनीतिक प्रस्ताव पेस गर्नेछन्। उपसभापति विश्वप्रकाश शर्माले ‘राजनीतिक संस्कृतिमा क्षयको प्रवृत्ति र युगानुकूल रूपान्तरणको अभिभारा’ विषयमा प्रस्ताव पेस गर्नेछन्।
त्यस्तै, उपसभापति पुष्पा भुसालले प्रदेश निर्वाचनसम्बन्धी विशेष प्रस्ताव र महामन्त्री गुरुराज घिमिरेले संगठनसम्बन्धी प्रस्ताव पेस गर्ने भएका छन्।
महाधिवेशन प्रचारप्रसार समिति भने प्रवक्ता देवराज चालिसेको संयोजकत्वमा गठन गरिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्