काठमाडौँ । प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाह र भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठबीच शिष्टाचार भेटवार्ता भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार भएको भेटमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसमेत सहभागी थिए। प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालका अनुसार भेटमा दुई देशबीचको सम्बन्ध तथा आपसी सहकार्यका विषयमा कुराकानी भएको थियो।
प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा सेनाध्यक्ष सेठ चारदिने भ्रमणका क्रममा आइतबार नेपाल आएका हुन्। उनको पाँच सदस्यीय भ्रमण टोलीमा धर्मपत्नी कोमल सेठसमेत सहभागी छन्।
मानार्थ महारथीको सम्मान
भ्रमणका क्रममा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गरेका थिए।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा उनलाई सो सम्मान प्रदान गरिएको हो। नेपाल र भारतबीच सन् १९५० देखि दुवै देशका सेना प्रमुखलाई मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने परम्परा रहँदै आएको छ।
सैन्य सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल
सोमबार नै प्रधान सेनापति अशोकराज सिग्देल र सेनाध्यक्ष सेठबीच द्विपक्षीय भेटवार्ता भएको थियो। भेटमा आपसी हित तथा नेपाल–भारत सैन्य सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।
सो अवसरमा सेनाध्यक्ष सेठले नेपाली सेनालाई आवश्यक सैन्य तथा स्वास्थ्य उपकरणसमेत हस्तान्तरण गरेका थिए।
यसअघि मंगलबार बिहान सेनाध्यक्ष सेठले पशुपतिनाथ मन्दिरमा पुगेर पूजाआजा गरेका थिए। उनको भ्रमणले नेपाल र भारतबीचको सैनिक सम्बन्धलाई थप विस्तार र प्रगाढ बनाउन सहयोग पुग्ने नेपाली सेनाले जनाएको छ।
सेनाध्यक्ष सेठ बुधबार स्वदेश फर्कने कार्यक्रम छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्