हेटौँडा । हेटौँडा–१९ बस्तीपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएका दुई बालिकामध्ये एक जनाको शव बुधबार बिहान फेला परेको छ। यससँगै घटनामा मृत्यु हुने बालिकाको संख्या दुई पुगेको छ भने एक जना अझै बेपत्ता छिन्।
मंगलबार दिउँसो निर्मल माध्यमिक विद्यालयबाट पढाइ सकेर घर फर्किने क्रममा चार बालिकालाई बासुदेव खोलाले बगाएको थियो। घटनामा एक बालिकालाई सकुशल उद्धार गरिएको थियो भने दुई जनाको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता माधवप्रसाद काफ्लेका अनुसार बेपत्ता भएकी कक्षा ५ मा अध्ययनरत बिनिता भ्लोनको शव बुधबार बिहान खोलामा फेला परेको हो। अर्की बालिका कक्षा ५ मै अध्ययनरत सुमित्रा भ्लोन अझै बेपत्ता छिन्। उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
मंगलबार नै राक्सिराङ–१ की कक्षा २ मा अध्ययनरत रेश्मा स्याङ्तानको शव फेला परेको थियो। कक्षा ६ मा अध्ययनरत सीमा भ्लोनलाई भने घाइते अवस्थामा उद्धार गरी हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।
बेपत्ता सुमित्राको खोजीमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल तथा स्थानीयवासी परिचालन भएका छन्। बिहानैदेखि खोला आसपासका क्षेत्रमा खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्