काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ ५ गते केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार महामन्त्री विपीनकुमार आचार्यले शुक्रबार बिहान ११ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालय घन्टीघरमा बैठक बस्ने गरी आह्वान गरेका हुन्।
आगामी स्थानीय तह निर्वाचनको तयारी तथा पार्टीको आन्तरिक संगठन सुदृढीकरणलाई केन्द्रमा राखेर बैठकका कार्यसूची तय गरिएको रास्वपाले जनाएको छ।
बैठकको प्रमुख कार्यसूचीमा स्थानीय निर्वाचनका लागि ‘उम्मेदवार छनोट रूपरेखा २०८३’ अनुमोदन गर्ने विषय रहेको छ। निर्वाचनमा उम्मेदवार छनोट गर्दा अपनाइने विधि तथा प्रक्रियालाई बैठकमार्फत अन्तिम रूप दिने तयारी पार्टीको छ।
त्यस्तै, रास्वपाले स्थापनाकालदेखि उठाउँदै आएको ‘राइट टु रिकल’ अर्थात् जनप्रतिनिधिलाई फिर्ता बोलाउन पाउने अधिकारसम्बन्धी दस्तावेज निर्माण गर्ने विषय पनि बैठकमा छलफल हुनेछ। यसका लागि आवश्यक कानुनी तथा राजनीतिक खाका तयार पार्ने पार्टीको तयारी छ।
बैठकले रिक्त तथा थप गर्नुपर्ने विभिन्न सांगठनिक पदमा मनोनयन गर्ने विषयसमेत टुंगो लगाउनेछ। केन्द्रीय समिति सदस्य तथा पदाधिकारी, सचिवालय सदस्य र विभिन्न विभागीय प्रमुखको जिम्मेवारी बाँडफाँट गर्ने कार्यसूची रहेको छ।
स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति गठन तथा सदस्य मनोनयन गर्ने विषय पनि बैठकमा समेटिएको छ।
यस्तै, उम्मेदवार छनोटको विधिबारे पार्टीका स्थानीय तहका कार्यकर्तालाई जानकारी गराउन केन्द्रीय सदस्य तथा सांसदको नेतृत्वमा देशव्यापी प्रशिक्षण र अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव गरिएको छ।
रास्वपाले पार्टीको आधिकारिक धारणा तथा गतिविधि सार्वजनिक गर्न ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने विषयलाई पनि बैठकको कार्यसूचीमा राखेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्