काठमाडौं । सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेर धरौटी बुझाउन नसक्दा कारागार चलान भएका तीन युवा २२ दिनपछि थुनामुक्त भएका छन् ।
जेनजी नागरिक अभियानका अभियन्ता प्रकाश बम, अजय सोडारी (पूर्णबहादुर बुढा) र सुनिल विकलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनही ५ हजार रुपैयाँ धरौटीमा रिहा गरेको हो ।
माइतीघर मण्डला तथा आसपासका निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा उनीहरू पक्राउ परेका थिए । आन्दोलन तथा विरोध प्रदर्शनका क्रममा सार्वजनिक यातायात र शान्ति व्यवस्थामा असर परेको दाबी गर्दै प्रशासनले उनीहरूमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा चलाएको थियो ।
पक्राउपछि प्रशासनले सुरुमा जनही १ लाख रुपैयाँ धरौटी मागेको थियो । धरौटी रकम बढी भएको भन्दै उनीहरूले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । सर्वोच्चले प्रशासनको निर्णय खारेज गर्दै धरौटी रकम पुनरावलोकन गर्न आदेश दिएपछि प्रशासनले जनही ५० हजार रुपैयाँ धरौटी कायम गरेको थियो ।
तर, उक्त रकमसमेत बुझाउन नसकेपछि तीनै जनालाई पुर्पक्षका लागि जगन्नाथदेवलस्थित कारागार पठाइएको थियो । त्यसपछि प्रशासनको आदेशविरुद्ध काठमाडौं जिल्ला अदालतमा निवेदन परेको थियो ।
जिल्ला अदालतले भदौ २ गते प्रशासनको पुरानो आदेश संशोधन गर्दै धरौटी रकम घटाएर जनही ५ हजार रुपैयाँ कायम गर्न आदेश दिएको हो । अदालतको आदेशपछि प्रतिवादीका तर्फबाट जनही ५ हजार रुपैयाँ धरौटी दाखिला गरिएको र तीनै जना २२ दिनपछि थुनामुक्त भएका हुन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्