पोखरा । भारतीय स्थल सेना प्रमुख जनरल धिरज सेठले पोखरामा भारतीय भूतपूर्व सैनिक तथा उनीहरूका परिवारजनसँग भेटघाट गरेका छन् ।
पोखराको रामबजारस्थित भारतीय पेन्सन क्याम्पमा आयोजित कार्यक्रममा सेठले भूतपूर्व सैनिकहरूको हालखबर बुझेका थिए । उनले उनीहरूको योगदानको प्रशंसा गर्दै उत्साहसमेत बढाएका थिए ।
कार्यक्रममा भूतपूर्व सैनिक तथा परिवारजनलाई सम्बोधन गर्दै सेठले नेपाली गोर्खा सैनिकले विभिन्न युद्धका क्रममा प्रदर्शन गरेको वीरता र बलिदानको प्रशंसा गरे । उनले गोर्खा सैनिकको योगदानप्रति आफू गौरवान्वित रहेको बताउँदै भूतपूर्व सैनिकलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सो अवसरमा सेठले विभिन्न युद्धका क्रममा अपांग तथा घाइते भएका पूर्वसैनिकलाई अपांगमैत्री स्कुटरसहित विभिन्न पदक तथा सम्मान प्रदान गरेका थिए ।
सेठ श्रीमती तथा काठमाडौंस्थित भारतीय दूतावासका केही उच्च अधिकारीसहित बुधबार बिहान पोखरा आएका थिए । उनी आजै काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।
पोखरामा केही दिनअघि मात्रै अग्निपथ योजनाअन्तर्गत अग्निवीर भर्तीमा नेपाली युवालाई सहभागी गराउन माग गर्दै भूतपूर्व सैनिकहरूले प्रदर्शन गरेका थिए । त्यसको केही समयपछि भारतीय सेना प्रमुख पोखरा आउनुलाई भूतपूर्व सैनिक तथा उनीहरूका परिवारले चासोका साथ हेरेका छन् ।
भारतीय पेन्सन क्याम्पका अनुसार पोखराबाट पेन्सन बुझ्ने भूतपूर्व सैनिक तथा उनीहरूका परिवारको संख्या करिब ६४ हजार रहेको छ । बुधबारको कार्यक्रममा करिब २ हजार जनाको सहभागिता रहेको जनाइएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्