काठमाडौं । स्ट्यान्डअप कमेडियन अमरेन्द्र यादवले आफूलाई तीन दिनदेखि निरन्तर धम्की आइरहेको दाबी गरेपछि नेकपा एमालेका नेता सूर्य थापाले प्रतिक्रिया जनाएका छन्। यादवको दाबी सार्वजनिक भएपछि आफूलाई आश्चर्य लागेको थापाले बताएका छन्।
यादवले ‘कमेडी बाज’ को पछिल्लो एपिसोड प्रसारणपछि आफूलाई धम्की र मानसिक दबाब आइरहेको बताएका थिए। उक्त कार्यक्रममा एमाले नेता थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमहामन्त्री डा. मुकुल ढकाल अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा यादवले दुवै अतिथिमाथि व्यंग्य तथा रोस्ट प्रस्तुत गरेका थिए।
कार्यक्रमका क्रममा यादव र थापाबीच प्रश्नोत्तरसमेत भएको थियो। यही प्रस्तुतिपछि आफूलाई धम्की आएको यादवको दाबी सार्वजनिक भएपछि थापाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राखेका हुन्।
थापाका अनुसार उनी सामान्यतः यस्ता मनोरञ्जनात्मक कार्यक्रममा सहभागी हुन रुचि राख्दैनन्। तर कार्यक्रमका निर्देशक सुन्दर खनालले पटक–पटक आग्रह गरेपछि आफू अतिथि बन्न तयार भएको उनले बताएका छन्।
थापाले आफूले ‘कमेडी बाज’ को उक्त एपिसोडको भिडियोसमेत सामाजिक सञ्जालमा सेयर गरेको उल्लेख गर्दै कार्यक्रममा आउने प्रश्न, व्यंग्य वा रोस्ट सामना गर्न आफू तयार रहेको बताएका छन्।
‘चर्चामा आउन फण्डा होइन होला’
यादवले धम्की आएको भन्दै लामो स्टाटस लेखेको विषयमा थापाले आश्चर्य व्यक्त गरेका छन्। उनले यादवले चर्चामा आउनकै लागि यस्तो दाबी गरेको हुनसक्ने आशंका भने आफूले नगरेको बताएका छन्।
‘कार्यक्रम प्रसारण भएपछि अमरेन्द्र यादवले धम्की आएको भनेर लामो स्टाटस लेखेको देख्दा आश्चर्य लागेको छ। चर्चामा आउन मच्चाएको फण्डा पक्कै होइन होला,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन्।
उनले कार्यक्रममा सहभागी हुने निर्णय गरेपछि त्यहाँ हुने रोस्ट र व्यंग्यलाई स्वाभाविक रूपमा लिनुपर्ने धारणा राखेका छन्।
‘जानीबुझी त्यहाँ जानु भनेको रोस्ट, टोस्ट र होस्ट सबै स्वीकार गरेर नै हो,’ थापाले भनेका छन्।
आफू र आफ्ना समर्थकहरू यस्ता कार्यक्रम सहज रूपमा सुन्न र आलोचना तथा व्यंग्यलाई स्वीकार गर्न सक्ने अवस्थामा रहेको उनको दाबी छ।
तर थापाले मनोरञ्जनका नाममा कार्यक्रमको स्तर खस्किन नहुनेतर्फ पनि संकेत गरेका छन्। उनका अनुसार यस्ता कार्यक्रमले मनोरञ्जनसँगै कुनै न कुनै सन्देश दिन सक्नुपर्छ।
‘म र मेरा समर्थकहरूले यस्तो कार्यक्रम मज्जासँग सुन्न र सहज रूपमा लिन सक्ने सामर्थ्य राख्दछौँ,’ उनले भनेका छन्, ‘यद्यपि यस्ता कार्यक्रमहरू सन्देशमूलक नभएर सस्ता बन्नु र अनावश्यक उडान भर्न रमाउनु उचित होइन।’
यादवले आफूलाई धम्की आएको दाबी सार्वजनिक गरेपछि उक्त विषय सामाजिक सञ्जालमा समेत बहसको विषय बनेको छ। एकातर्फ अभिव्यक्ति र व्यंग्यको सीमाबारे बहस भइरहेको छ भने अर्कोतर्फ कलाकारलाई धम्की दिइएको भए त्यसलाई गम्भीर रूपमा लिनुपर्ने आवाजसमेत उठिरहेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्