काठमाडौं । गृहमन्त्री सुधन गुरुङले गृहजिल्ला गोरखामा आफूले दिएको ‘भोट फिर्ता लैजानुस्’ भन्ने अभिव्यक्ति मजाकका रूपमा आएको बताएका छन्। उनले उक्त अभिव्यक्तिलाई गम्भीर राजनीतिक अभिव्यक्तिका रूपमा नलिन आग्रह गर्दै आफूले मतदातासँग सामान्य ठट्टा गरेको दाबी गरेका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठकबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै गुरुङले स्थानीय मतदातासँगको कुराकानीलाई आफूले ठट्टाका रूपमा प्रस्तुत गरेको बताए।
पत्रकारले ‘भोट फिर्ता कसरी गर्न मिल्छ ?’ भन्ने प्रश्न गरेपछि गुरुङले प्रतिप्रश्न गर्दै भने, ‘आफ्नो मतदातासँग जोक गर्नु हुँदैन त?’
उनले आफूहरूले स्थानीयस्तरमा बसेर गरेको छलफलको सन्दर्भलाई समेत जोड्दै भने, ‘हामी त्यहाँभित्र बसेर सल्लाह गरेको कुरा जोक होइन त?’
के भएको थियो गोरखामा?
गत साता गोरखाको नाम्जुङ पुगेका गृहमन्त्री गुरुङलाई स्थानीय पार्टी नेताहरूले चुनावका बेला गरिएको प्रतिबद्धता सम्झाएका थिए। विशेषगरी स्थानीय स्वास्थ्य चौकीमा ल्याब स्थापना गर्ने वाचा पूरा नभएको भन्दै उनीहरूले ध्यानाकर्षण गराएका थिए।
स्थानीय नेताहरूले चुनावी प्रतिबद्धता पूरा गर्न आग्रह गरेपछि गुरुङले चार महिनाको अवधिमा सबै काम पूरा गर्न सम्भव नहुने बताएका थिए। सोही क्रममा उनले असन्तुष्टि व्यक्त गर्दै ‘भोट फिर्ता लैजानुस्’ भनेका थिए।
उनको उक्त अभिव्यक्ति सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचना भएको थियो। निर्वाचित जनप्रतिनिधिले चुनावी प्रतिबद्धता पूरा गर्न नसक्दा मतदातासँग जवाफदेही हुनुपर्ने विषयमा समेत बहस सुरु भएको थियो।
‘सामान्य कुराकानीलाई गम्भीर नबनाऔँ’
विवाद बढेपछि गृहमन्त्री गुरुङले आफ्नो अभिव्यक्तिको स्पष्टीकरण दिएका हुन्। उनले उक्त भनाइलाई मतदातासँग गरिएको सामान्य ठट्टाका रूपमा व्याख्या गर्दै राजनीतिक रूपमा गम्भीर अर्थ नलगाउन आग्रह गरेका छन्।
उनको पछिल्लो स्पष्टीकरणले चुनावी प्रतिबद्धता, जनप्रतिनिधिको जवाफदेहिता र मतदातासँगको सम्बन्धबारे उठेको बहस भने तत्काल समाप्त हुने देखिँदैन। विशेषगरी सार्वजनिक पदमा रहेका व्यक्तिले स्थानीय जनतासँग गर्ने संवाद र अभिव्यक्तिको राजनीतिक अर्थबारे प्रश्न उठिरहेका बेला गुरुङको ‘जोक’ सम्बन्धी स्पष्टीकरण आएको हो।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्