काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिनकुमार आचार्यले रोजगारीका लागि विदेशमा रहेका नेपाली नागरिकलाई आगामी स्थानीय तहको निर्वाचनमा मतदान गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।
Originally published on abcnews.com.np.
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिनकुमार आचार्यले रोजगारीका लागि विदेशमा रहेका नेपाली नागरिकलाई आगामी स्थानीय तहको निर्वाचनमा मतदान गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै आचार्यले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्न आवश्यक कानुनी र प्राविधिक तयारी तत्काल सुरु गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत विश्वभर रहेका पार्टी कार्यकर्ताको सहभागितामा उम्मेदवार छनोट प्रक्रिया सुरु गरेको जानकारी दिए । यही सन्दर्भमा प्रवासमा रहेका नेपाली नागरिकलाई समेत आगामी स्थानीय तहको निर्वाचनमा मतदानको अधिकार दिनुपर्ने उनको भनाइ थियो ।
‘हामी चाहन्छौँ, यो पटकको स्थानीय तहको निर्वाचनमा संसारभरका प्रवासी नेपालीले भोट हाल्न पाऊन्,’ आचार्यले भने, ‘त्यसका लागि जे–जे कानुनी काम गर्नुपर्ने हो, त्यसको सुरुवात गरौँ ।’
विदेशमा मतदानको व्यवस्था प्राविधिक रूपमा जटिल भए पनि त्यसका लागि अहिलेदेखि नै तयारी थाल्नुपर्ने उनले बताए । विदेशमा रहेका नेपालीको आर्थिक योगदान स्वीकार गर्ने तर उनीहरूलाई मतदानको अधिकारबाट वञ्चित गर्ने अवस्था अन्त्य गर्नुपर्ने उनको भनाइ छ ।
‘नोट चल्ने, भोट नचल्ने प्रवृत्तिको अन्त्य गरिनुपर्छ,’ आचार्यले भने, ‘यो पटकको स्थानीय तह निर्वाचनमा प्रवासी नेपालीले भोट हाल्न पाउने कुरा प्राथमिकतामा राखेर आजैबाट काम सुरु गरियोस् ।’
करिब ४० लाख नेपाली विदेशमा रहेको उल्लेख गर्दै आचार्यले संसारभर रहेका नेपाली नागरिकले स्थानीय तह निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था सुनिश्चित गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।
Originally published on abcnews.com.np.
प्रतिक्रिया दिनुहोस्