काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विश्वभर रहेका प्रवासी नेपालीलाई आगामी स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपाका सांसद विपिनकुमार आचार्यले विदेशमा रहेका नेपाली नागरिकले पनि मतदान गर्न पाउने व्यवस्था सुनिश्चित गर्न कानुनी प्रक्रिया तत्काल अघि बढाउनुपर्ने बताए ।
उनले विदेशमा रहेका नेपालीको ‘नोट चल्ने तर भोट नचल्ने’ प्रवृत्तिको अन्त्य गर्नुपर्ने धारणा राखे । “जे–जे कानुनी उपाय गर्नुपर्नेछ, त्यो गर्न सुरु गरौँ,” उनले भने, “त्यसको प्राविधिक पाटो अझै पेचिलो हुन्छ ।”
आचार्यले प्रवासी नेपालीलाई मतदानको अधिकार दिन कानुनी तथा प्राविधिक तयारी आवश्यक रहेको बताए । मतपत्रको व्यवस्थापन, मतदानको सुरक्षा तथा विदेशबाट मतदान गर्ने प्रणाली निर्माणलगायत विषय चुनौतीपूर्ण भए पनि प्रक्रिया सुरु गरे समाधान खोज्न सकिने उनको भनाइ थियो ।
रास्वपाले आगामी स्थानीय तहको निर्वाचनमै विश्वभर रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउने गरी आवश्यक कानुनी र प्राविधिक तयारी अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको हो ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्