काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा आफू ‘एक्लै लडिरहेको’ आशयको स्टाटस लेखेको विषयमा राजनीतिक अर्थ खोज्न आवश्यक नरहेको बताएका छन्।
रास्वपाको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले प्रधानमन्त्री शाह कवि तथा कलाकारसमेत भएकाले सामाजिक सञ्जालमा व्यक्त गर्ने हरेक अभिव्यक्तिलाई राजनीतिक सन्देशका रूपमा व्याख्या गर्न नहुने बताए।
‘प्रधानमन्त्रीज्यू कवि र कलाकार पनि हो। यत्रो भीडमा पनि म एक्लो महसुस गर्न सक्दिनँ र? हरेक शब्दको राजनीतिक अर्थ खोज्न हुँदैन,’ लामिछानेले भने।
उनले प्रधानमन्त्री शाह एक्लै नरहेको दाबी गर्दै रास्वपा उनको साथमा रहेको संकेतसमेत गरे।
‘यहाँ पार्टी सिंगै उभिएको छ, उहाँ कहाँ एक्लो हुनुहुन्छ?’ लामिछानेले पत्रकारलाई प्रतिप्रश्न गरे।
‘हामीबीच मतभेद छैन’
लामिछानेले प्रधानमन्त्री शाह र आफूबीच कुनै मतभेद नरहेको स्पष्ट पारे। पछिल्लो समय प्रधानमन्त्री र रास्वपा नेतृत्वबीच दूरी बढेको तथा मतभेद चर्किएको भन्दै आएका समाचारप्रति उनले असन्तुष्टि जनाए।
‘हामीबीच मतभेद बढेको भनेर समाचार आइरहन्छ। त्यसले हामीलाई थप नजिक ल्याएको छ,’ लामिछानेले भने।
उनका अनुसार प्रधानमन्त्री र रास्वपाबीच सहकार्यमा कुनै समस्या नरहेको र बाहिर आएका राजनीतिक अड्कलबाजीले सम्बन्धमा असर नगरेको दाबी गरे।
प्रधानमन्त्री शाहको सामाजिक सञ्जाल अभिव्यक्तिलाई लिएर विभिन्न राजनीतिक अर्थ लगाइरहेका बेला लामिछानेको यस्तो स्पष्टीकरण आएको हो। उनले प्रधानमन्त्रीको व्यक्तिगत अभिव्यक्तिलाई तत्काल राजनीतिक सन्देश वा सत्ता गठबन्धनभित्रको असन्तुष्टिको संकेतका रूपमा व्याख्या नगर्न आग्रह गरेका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्