काठमाडौँ । डा. धवलशमशेर राणाको नेतृत्वमा गठन भएको जय नेपाल पार्टीको पहिलो केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। बैठकमा देशव्यापी संगठन विस्तारसहित आगामी राजनीतिक कार्यदिशा र रणनीतिबारे महत्वपूर्ण निर्णय हुने बताइएको छ।
जय नेपाल पार्टीको केन्द्रीय कार्यसमिति बैठक सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा बिहान ११ बजे सुरु हुनेछ। बैठकमा संगठन निर्माण, पार्टीको आगामी कार्ययोजना तथा विभिन्न राजनीतिक विषयमा छलफल हुने पार्टीका सचिवालय प्रमुख सगुन सुन्दर लावतीले जानकारी दिए।
जय नेपाल पार्टीले निर्वाचन आयोगमा गत साउन २९ गते दल दर्ता गरेको थियो। दल दर्ताकै दिन पार्टीले आगामी स्थानीय निर्वाचनमा उम्मेदवार बन्न इच्छुक प्रतिभाशाली नागरिकलाई पार्टीमा जोडिन आह्वान गरेको थियो।
पार्टीले संवैधानिक राजसंस्था, सनातन धर्म, भ्रष्टाचार न्यूनीकरण र सुशासनका पक्षधर दल, समूह तथा अभियानलाई एकताबद्ध भएर अघि बढ्नसमेत आह्वान गरेको छ।
आजको बैठकले पार्टीको संगठन विस्तारको ढाँचा, आगामी कार्यक्रम तथा राजनीतिक रणनीतिलाई थप स्पष्ट गर्ने अपेक्षा गरिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्