काठमाडौँ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको साउन १ गतेदेखि लागू हुने गरी बढाइएको तलबमान, ग्रेड तथा प्रोत्साहनभत्ता विभिन्न सर्तसहित कार्यान्वयन गर्न निर्देशन दिएको छ।
अर्थमन्त्रीस्तरीय निर्णयअनुसार सार्वजनिक संस्थान, प्राधिकरण, बोर्ड, निगम तथा समितिका कर्मचारीको तलब, ग्रेड र प्रोत्साहनभत्ता निर्धारण तथा उपलब्ध गराउँदा तोकिएका मापदण्ड पालना गर्न सम्बद्ध निकायलाई निर्देशन दिइएको हो।
अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले मन्त्रिपरिषद्को साउन ६ गतेको निर्णयअनुसार साउन १ गतेदेखि लागू हुने नयाँ तलबमानका आधारमा तह तथा पदअनुसार कर्मचारीको तलब निर्धारण गर्न भनेको छ।
मन्त्रालयले निजामती सेवामा लागू भएको नयाँ ग्रेडदरभन्दा कर्मचारीले हाल पाइरहेको ग्रेड कम हुने अवस्थामा मात्र नयाँ ग्रेड निर्धारण गर्न आग्रह गरेको छ। अर्थात् हाल खाईपाई आएको ग्रेडभन्दा नयाँ ग्रेडदर कम भएमा मात्र निजामती सेवातर्फ लागू भएको दर बराबर हुने गरी ग्रेड कायम गर्नुपर्नेछ।
प्रोत्साहनभत्ता लिइरहेका कर्मचारीका हकमा पनि मन्त्रालयले सर्त तोकेको छ। हाल कायम प्रोत्साहनभत्ताभन्दा नयाँ व्यवस्था गर्दा रकम कम हुने भएमा कम भएको रकम बराबरको भत्ता मात्र उपलब्ध गराउन निर्देशन दिइएको छ।
त्यस्तै, कार्यसम्पादन सूचकका आधारमा प्रदान गरिने प्रोत्साहनभत्ताको व्यवस्था क्रमशः कार्यान्वयनमा लैजान मन्त्रालयले आग्रह गरेको छ।
अर्थ मन्त्रालयको पूर्वसहमति बिना संस्थान तथा सम्बद्ध निकायका कर्मचारीको आर्थिक दायित्व बढ्ने गरी अन्य कुनै किसिमका भत्ता तथा सुविधा वृद्धि नगर्नसमेत निर्देशन दिइएको छ। यसका लागि विगतमा जारी गरिएका परिपत्र तथा निर्देशनलाई समेत ध्यानमा राख्न भनिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्