काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकबाट ११ वटा निर्णय गरेको छ। बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत निर्णयहरू सार्वजनिक गरेका हुन्।
बैठकले सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक कन्ट्रोल सुधारसम्बन्धी परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने २ अर्ब ७३ करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको छ।
मन्त्रिपरिषद्ले भारतमा हुने ‘जोइन्ट वर्किङ ग्रुप अन बोर्डर म्यानेजमेन्ट’को १४औँ बैठकमा गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुन स्वीकृति दिएको छ। बैठक भदौ ४ र ५ गते भारतमा हुँदैछ।
यस्तै, एसियन डिजास्टर प्रिपेयर्डनेस सेन्टरको सब–सेन्टर नेपालमा स्थापना गर्न स्वीकृति दिइएको छ। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन परराष्ट्रमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल पठाउन पनि बैठकले स्वीकृति दिएको प्रवक्ता पोखरेलले जानकारी दिए।
बैठकले प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीका लागि संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक ५ हजार रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको छ।
त्यस्तै, माध्यमिक तह कक्षा ९–१० र आधारभूत तह कक्षा ६–८ मा शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकको तलब क्रमशः माध्यमिक तृतीय श्रेणी र निम्न माध्यमिक तृतीय श्रेणीका शिक्षकको तलबसरह कायम गर्न स्वीकृति दिइएको छ।
सरकारले नेपाल र साउदी अरेबियाबीच द्विपक्षीय हवाई सेवा सम्झौता गर्न पनि स्वीकृति दिएको छ। भुक्तानी तथा फछ्र्यौट ऐन, २०७५ संशोधन गर्न बनेको विधेयक र नागरिक लगानी कोष ऐन, २०४७ संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्नसमेत स्वीकृति दिइएको छ।
यसैगरी, सहसचिव कमलप्रसाद भट्टराईलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमती प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गर्ने निर्णय भएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्