काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नेपालका सबै जीवित पूर्वप्रधानमन्त्रीविरुद्ध उजुरी परेको छ।
बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले सबै जीवित पूर्वप्रधानमन्त्रीविरुद्ध उजुरी प्राप्त भएको जानकारी दिनुभएको हो।
राईले भन्नुभयो, “पूर्वप्रधानमन्त्रीमाथि उजुरीको कुरा गर्नुभयो। सबैको उजुरी आएको छ, हामी हेर्छौं।” तर उजुरीमा के–कस्ता विषय समेटिएका छन् भन्नेबारे भने उहाँले खुलाउन नमिल्ने बताउनुभयो।
उहाँले भन्नुभयो, “योभन्दा धेरै भन्न मिल्दैन, उजुरीबारे हामी हेर्दै छौं।”
हाल नेपालमा पूर्वप्रधानमन्त्री तथा पूर्वमन्त्रिपरिषद् अध्यक्ष गरी आठ जना जीवित हुनुहुन्छ। जसमा सुशीला कार्की, केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, डा. बाबुराम भट्टराई, माधवकुमार नेपाल, लोकेन्द्रबहादुर चन्द र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी हुनुहुन्छ।
उजुरीबारे विवरण गोप्य
अख्तियारले पूर्वप्रधानमन्त्रीहरूविरुद्ध परेको उजुरीको विषयवस्तु सार्वजनिक गरेको छैन। प्रमुख आयुक्त राईले उजुरीको अध्ययन भइरहेको र यसबारे थप विवरण दिन नमिल्ने स्पष्ट पार्नुभएको छ।
आयोगले उजुरीमाथि अध्ययन तथा छानबिनका क्रममा आवश्यक देखिएमा कानुनबमोजिम प्रक्रिया अघि बढाउनेछ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्