मुस्ताङ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा कोरला नाकाबाट एक सय वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन् ।
मुस्ताङ भन्सार कार्यालयका अनुसार एक महिनामा कोरला नाकाबाट आयात भएका विद्युतीय सवारीसाधन तथा अन्य सामग्रीबाट राज्यकोषमा २९ करोड रुपैयाँ राजस्व दाखिला भएको छ ।
भन्सार प्रमुख विदुर चुडालका अनुसार कोरला नाकाबाट दैनिक करिब १० वटा कन्टेनरको भन्सार जाँचपास भइरहेको छ । पछिल्लो समय यो नाका विद्युतीय सवारीसाधन आयातको नयाँ मार्गका रूपमा विकास हुँदै गएको उनले बताए ।
गत आर्थिक वर्षमा कोरला नाकाबाट करिब तीन हजार वटा विद्युतीय सवारीसाधन आयात भएका थिए । सो अवधिमा नाकाबाट ६ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन भएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ ।
विद्युतीय सवारीसाधनको आयात बढेसँगै कोरला नाका व्यापारिक तथा राजस्व संकलनका दृष्टिले समेत महत्त्वपूर्ण बन्दै गएको छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्