काठमाडौँ, भदौ ४ गते । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए. मोनैखिरबीच शिष्टाचार भेटवार्ता भएको छ।
परराष्ट्र मन्त्रालयमा बिहीबार भएको भेटमा नेपाल–साउदी अरब द्विपक्षीय सम्बन्ध, उच्चस्तरीय भ्रमण, नेपाली श्रमिकको सुरक्षा तथा कल्याण र आपसी हितका विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
भेटका क्रममा दुवै पक्षले नेपाल र साउदी अरबबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठको महत्व स्मरण गर्दै सम्बन्धलाई थप सुदृढ बनाउन उच्चस्तरीय भ्रमण तथा संवादलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
मन्त्री खनालले दुई देशबीच हुने उच्चस्तरीय भ्रमणले द्विपक्षीय सम्बन्धलाई थप गति दिनुका साथै आपसी हितका क्षेत्रमा सहकार्य विस्तार गर्न योगदान पुर्याउने बताए।
भेटमा मन्त्री खनालले हालैको क्षेत्रीय द्वन्द्वका क्रममा साउदी अरबले आफ्ना नागरिक तथा त्यहाँ रहेका नेपाली श्रमिकको सुरक्षा र संरक्षणका लागि अपनाएका उपायप्रति धन्यवाद व्यक्त गरे।
साउदी अरबमा कार्यरत केही नेपाली श्रमिकले आफूले गरेको कामको उचित पारिश्रमिक नपाएको भन्ने रिपोर्टप्रति समेत मन्त्री खनालले चासो व्यक्त गर्दै त्यस्ता विषयमा आवश्यक ध्यान दिन साउदी पक्षलाई आग्रह गरे।
त्यस्तै, साउदी अरबमा मृत्यु भएका नेपाली नागरिकको शव नेपाल ल्याउने प्रक्रियामा साउदी अधिकारीहरूले गर्दै आएको सहयोगप्रति पनि उनले प्रशंसा गरे।
भेटमा राजनीतिक परामर्श, लगानी, पर्यटन, हवाई सम्पर्क, श्रम गतिशीलता तथा साउदी अरबमा रहेका नेपाली श्रमिकको कल्याणलगायत क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा पनि छलफल भएको थियो।
मन्त्री खनालले नेपाल साउदी अरबसँग राजनीतिक तथा कूटनीतिक सम्बन्धसँगै लगानी, पर्यटन, हवाई सम्पर्क, श्रम र अन्य आर्थिक क्षेत्रमा सहकार्य विस्तार गर्न इच्छुक रहेको बताए। दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप परिणाममुखी साझेदारीमा रूपान्तरण गर्न आवश्यक रहेको उनको भनाइ थियो।
नेपाल र साउदी अरबबीच सन् १९७७ मार्च १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो। त्यसयता दुई देशबीच मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको छ।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्