काठमाडौं । चलचित्र ‘पार्वती’को ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरमा चलचित्रका मुख्य कलाकार नीता ढुंगाना र अशोक दर्जीबीचको दिदी–भाइको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखिएको छ।
ट्रेलरमा अटिजम भएकी दिदीप्रति भाइको स्नेह, माया र समर्पणलाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ। दिदी–भाइबीचको आत्मीय सम्बन्ध र पारिवारिक भावनालाई कथाको मुख्य आधार बनाइएको देखिन्छ।
चलचित्र ‘पार्वती’ यही भदौ १२ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ।
चलचित्रको निर्देशन नीता ढुंगानाले गरेकी हुन्। उनले नै चलचित्रको कथा तथा पटकथा लेखेकी छन् भने स्क्रिप्ट शिवं अधिकारीले तयार पारेका हुन्। सुदीप बरालले छायांकन गरेका छन्।
चलचित्रमा नीता ढुंगाना र अशोक दर्जी मुख्य भूमिकामा छन्।
नीता भन्छिन्– ‘पार्वती’ जीवनकै महत्वपूर्ण चलचित्र
निर्देशक ढुंगानाले ‘पार्वती’ आफ्नो जीवनकै महत्वपूर्ण चलचित्रमध्ये एक रहेको बताउँदै आएकी छन्। दिदी–भाइको प्रेम र सम्बन्धको संवेदनशील कथालाई पर्दामा प्रस्तुत गर्न पाउँदा आफू खुसी रहेको उनको भनाइ छ।
स्क्रिप्ट लेखक शिवं अधिकारीले पनि चलचित्रको कथावस्तु संवेदनशील र भावनात्मक रहेको बताएका छन्। ट्रेलर सार्वजनिक भएसँगै चलचित्रको कथावस्तु र मुख्य कलाकारको भूमिकालाई लिएर दर्शकमाझ चासो बढेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्