काठमाडौं । पाकिस्तानी टिकटकर एलिजे जमाली आफ्नो इन्स्टाग्राम अकाउन्ट सस्पेन्ड भएपछि भावुक बनेकी छन् । पाँच वर्षको मेहनत खेर गएको भन्दै उनले रुँदै आफ्नो भिडिओ सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् ।
नेपाली टिकटकर आयुषसँग विवाह गरेर नेपालमा बस्दै आएकी एलिजेले आफ्नो भावुक भिडिओ युट्युबमा सार्वजनिक गरेकी हुन् । भिडिओमा उनी मेकअप गरिरहेको र कपाल कर्ल गर्न लागेका बेला इन्स्टाग्रामबाट आएको सूचना देखेपछि चिन्तित बनेको देखिन्छ ।
एलिजेका अनुसार, उनको अकाउन्टमा कपिराइटसम्बन्धी दाबी गरिएको छ । आफूले सधैँ मौलिक सामग्री पोस्ट गर्दै आएको भए पनि अकाउन्टमा कपिराइट दाबी आएपछि आफू निकै तनावमा परेको उनले बताएकी छन् ।
‘मलाई धेरै प्यानिक भइरहेको छ । मैले यसमा धेरै मेहनत गरेकी थिएँ,’ उनले भनेकी छन्, ‘अरूले अनौठा कुरा पोस्ट गरेर लाखौँ फलोअर्स पाउँछन्, तर मेरो सबै पोस्ट मौलिक थियो ।’
उनले आयुषलाई भेट्नुअघि सन् २०२२ मा उक्त अकाउन्ट बनाएको बताएकी छन् । ‘मैले कसैको कन्टेन्ट स्टिच गरिनँ, ड्युएट पनि कहिल्यै गरिनँ । आफ्नै टिकटक बनाउँछु, आफ्नै कन्टेन्ट क्रिएट गर्छु । कसरी कपिराइट दिन सकिन्छ ?’ उनले प्रश्न गरेकी छन् ।
एलिजेले आफूले अकाउन्ट फिर्ताका लागि अपिल गरिसकेको र अकाउन्ट पुनः प्राप्त हुने वा नहुनेबारे यकिन नभएको बताएकी छन् ।
उनले सामाजिक सञ्जाल अकाउन्ट आफ्ना लागि केवल एउटा अकाउन्ट नभएको बताउँदै यसमा वर्षौँको मेहनत जोडिएको उल्लेख गरिन् । उनका अनुसार, सामाजिक सञ्जालबाटै काम र आम्दानीका अवसर आउने भएकाले अकाउन्ट सस्पेन्ड हुँदा त्यसको प्रत्यक्ष असर पर्छ ।
‘तिमीहरूलाई लाग्ला यो त सिर्फ एउटा अकाउन्ट हो, तर यस्तो हुँदैन । यसमा धेरै वर्षको मेहनत लाग्छ । यो हाम्रो जागिर नै हो, यसबाट हामीलाई काम आउँछ,’ उनले भनिन् ।
पुरानो अकाउन्ट फिर्ता नआए पनि आफू शून्यबाट पुनः सुरु गर्न तयार रहेको उनले बताएकी छन् । नयाँ अकाउन्ट बनाएर फेरि अघि बढ्ने उनको भनाइ छ ।
आफ्नो अकाउन्ट बन्द भएकोमा केही व्यक्तिले ‘राम्रो भयो’ भन्दै टिप्पणी गरेकोप्रति पनि एलिजेले दुःख व्यक्त गरेकी छन् । आफूले कसैको नराम्रो नचिताएको र सबैलाई सम्मान गर्ने प्रयास गर्दै आएको बताउँदै उनले मानिसहरूमा यति धेरै घृणा किन हुने गरेको भन्दै प्रश्न गरेकी छन् ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्