काठमाडौँ । नेपाली फिल्म ‘मास्टर्नी’ आज शुक्रबारदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ। आयंका फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्रले राम्रो शोसहित सोलो रिलिज पाएको निर्माण पक्षले जनाएको छ।
क्राइम थ्रिलर तथा फ्यामिली ड्रामा जनरामा निर्माण गरिएको ‘मास्टर्नी’ आमा र छोरीबीचको भावनात्मक सम्बन्धमा आधारित छ। निर्माण पक्षका अनुसार चलचित्रले छोरीको सुरक्षाका लागि एउटी आमाले कति हदसम्म संघर्ष गर्न सक्छिन् भन्ने कथा प्रस्तुत गर्छ।
चलचित्रमा प्रियंका कार्की, सिम्रन खड्का, प्रमोद अग्रहरी, ऋचा शर्मा, आर्यन सिग्देल, दिनेश काफ्ले, रक्षा थापा, दीपकराज गिरी र दीपाश्री निरौलालगायत कलाकारको अभिनय छ।
अभिनेत्री प्रियंका कार्कीले ‘मास्टर्नी’मार्फत पहिलोपटक निर्माणमा समेत हात हालेकी हुन्। उनले चलचित्रमा मुख्य भूमिकासमेत निर्वाह गरेकी छन्।
सुवेन्दु घोषको निर्देशनमा बनेको चलचित्र प्रियंका कार्की, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीको संयुक्त निर्माण हो। सुरक्षा सिंह मलहोत्रा र सिमोस सुनुवार कार्यकारी निर्माता छन्।
चलचित्रको कथा प्रियंका कार्कीले लेखेकी हुन् भने पटकथा शान बस्नेतले तयार पारेका छन्। संवादमा प्रियंका कार्की र शान बस्नेतको सहकार्य रहेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्