काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले पद तथा गोपनीयताको शपथ लिएका छन्। रावलले बिहीबार नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रावललाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार उनले बिहीबारदेखि औपचारिक रूपमा जिम्मेवारी सम्हालेका हुन्। रावलले २०६२ माघ २ गते सहायक निर्देशकका रूपमा नेपाल राष्ट्र बैंकमा सेवा प्रवेश गरेका थिए। त्यसयता उनले बैंकका विभिन्न जिम्मेवारी सम्हाल्दै पदोन्नति हुँदै आएका छन्।
उनी २०६९ सालमा उपनिर्देशक, २०७५ सालमा निर्देशक र २०८२ जेठ १९ गते कार्यकारी निर्देशकमा पदोन्नति भएका थिए। कार्यकारी निर्देशक बनेपछि रावलले बैंकको सुपरिवेक्षण विभागको नेतृत्व सम्हाल्दै आएका थिए। लामो समयदेखि राष्ट्र बैंकमा कार्यरत रावललाई बैंकिङ तथा वित्तीय क्षेत्रको अनुभवी अधिकारीका रूपमा लिइन्छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्