ढाका । बंगलादेश क्रिकेटको सबैभन्दा ठूलो फ्रेन्चाइज टी–२० प्रतियोगिता बंगलादेश प्रिमियर लिग (बीपीएल) यस वर्ष आयोजना नहुने भएको छ ।
बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) का नवनियुक्त अध्यक्ष तमिम इकबालले पर्याप्त तयारी तथा गुणस्तरीय फ्रेन्चाइजको अभावका कारण यस वर्ष बीपीएल आयोजना नगर्ने निर्णय गरिएको बताएका हुन् । बीपीएल स्थायी रूपमा खारेज भएको भन्ने विभिन्न अफवाह फैलिन थालेपछि बोर्डले प्रतियोगिता यस वर्षका लागि मात्र स्थगित गरिएको स्पष्ट पारेको छ ।
क्रिकेट अनलाइन पोर्टल क्रिकफ्रेन्जीका अनुसार तमिमले पर्याप्त तयारी र उचित व्यवस्थापनबिना हतारमा प्रतियोगिता सञ्चालन गर्नुभन्दा केही समयका लागि रोक्नु उपयुक्त हुने बताएका छन् । आगामी संस्करणमा गुणस्तरीय विदेशी खेलाडीको सहभागिता तथा व्यावसायिक फ्रेन्चाइज व्यवस्थापन सुनिश्चित गरेर प्रतियोगिता सञ्चालन गर्ने बोर्डको योजना छ ।
अघिल्लो संस्करणमा विवाद
बीपीएलको पछिल्लो संस्करण पनि विवादमुक्त हुन सकेको थिएन । सन् २०२६ जनवरीमा आयोजना भएको १२औँ संस्करणमा खेलाडी र बोर्डका वरिष्ठ अधिकारीबीच विवाद भएपछि केही खेल प्रभावित भएका थिए ।
बोर्डका अधिकारीहरूको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै खेलाडीहरूले खेल बहिष्कार गरेपछि केही खेल स्थगित गर्दै तालिका परिवर्तन गर्नुपरेको थियो । पछि खेलाडी संघ र बोर्डबीच सहमति भएपछि प्रतियोगिता पुनः सञ्चालन भएको थियो ।
सो संस्करणको फाइनल जनवरी २३ मा सम्पन्न भएको थियो, जसमा राजशाही वारियर्सले उपाधि जितेको थियो ।
संरचना सुधारमा जोड
बीसीबीले बीपीएललाई पूर्ण रूपमा खारेज नगरी प्रतियोगिताको संरचना र व्यवस्थापन सुधार गर्न एक संस्करण विश्राम दिने रणनीति लिएको बताइएको छ । फ्रेन्चाइज व्यवस्थापनलाई व्यावसायिक बनाउने, भ्रष्टाचार नियन्त्रणलाई प्रभावकारी बनाउने तथा रंगशाला र खेल पूर्वाधार सुधार गर्ने विषयलाई बोर्डले प्राथमिकतामा राखेको छ ।
यसैबीच, सन् २०२६ को बीपीएलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने पनि राजशाही वारियर्समा आबद्ध भएका थिए । उनलाई राजशाहीले ड्राफ्टबाहिरबाट अनुबन्ध गरेको थियो ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्