काठमाडौं । एसियाली खेलकुदमा नेपालको तेक्वान्दो प्रदर्शन पछिल्ला वर्षमा निराशाजनक बन्दै गएको छ। सन् २००६ मा तीन कास्य पदक जितेयता तेक्वान्दोले एसियाडमा थप पदक जित्न सकेको छैन।
सन् २००६ मा कतारको दोहामा भएको एसियाली खेलकुदमा दीपक विष्ट, आयषा शाक्य र मनिता शाहीले तेक्वान्दोबाट कास्य पदक जितेका थिए। त्यसयता चारवटा एसियाड सम्पन्न भए पनि नेपालले तेक्वान्दोमा थप पदक हात पार्न सकेको छैन।
यसपटक भने नेपाली टोली तेक्वान्दोको पुरानो साख फर्काउने लक्ष्यसहित तयारीमा जुटेको छ। राष्ट्रिय टोलीका प्रशिक्षक कविराज खड्गीका अनुसार पुराना खेलाडीले खेल जीवनबाट विश्राम लिएपछि नयाँ पुस्तालाई सोही स्तरको प्रदर्शन गर्न समय लागेको हो।
“त्यस समय खेलेका खेलाडीहरूले विभिन्न कारणले खेल छाडेपछि नयाँ खेलाडीहरू आए। उनीहरूलाई पुराना खेलाडीजस्तो प्रदर्शन गर्न समय लागेको हो,” प्रशिक्षक खड्गीले भने।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सन् २०२३ को हान्चाउ एसियाडपछि स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित ‘मिसन २०२६’ सुरु गरेको थियो। सोही अभियानअन्तर्गत तेक्वान्दो टोलीले पनि लामो समयदेखि प्रशिक्षण गरिरहेको छ।
तीन खेलाडीले गर्दैछन् प्रतिनिधित्व
आगामी एसियाली खेलकुदमा तेक्वान्दोको क्योरोगी र पुम्से विधामा तीन नेपाली खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
८० किलोमुनिको तौल समूहमा अभिषेक बरालले क्योरोगीमा प्रतिस्पर्धा गर्नेछन्। पुम्सेतर्फ ३० वर्षमुनिको उमेर समूहमा स्वस्तिका तामाङ र युवराज रानाले नेपालको प्रतिनिधित्व गर्नेछन्।
सातदोबाटोस्थित तेक्वान्दो प्रशिक्षण हलमा तीनै खेलाडीले प्रतियोगिताका लागि तयारी गरिरहेका छन्।
पहिलोपटक एसियाडमा सहभागी हुन लागेका युवराज राना पदक जित्ने लक्ष्यमा छन्। “लक्ष्य त पदक नै हो, तर खेलबाट मात्र थाहा हुन्छ। म शतप्रतिशत प्रयास गर्नेछु र मेरो मनोबल उच्च छ,” उनले भने।
स्वस्तिका तामाङ यसअघि १९औँ एसियाडमा पनि सहभागी भएकी थिइन्। हान्चाउ एसियाडमा ३६औँ स्थान हासिल गरेकी स्वस्तिका यसपटक अघिल्लो अनुभवलाई उपयोग गर्ने तयारीमा छिन्।
“तयारी राम्रो भइरहेको छ। अघिल्ला प्रतियोगिताहरूले मलाई धेरै सहयोग गर्ने विश्वास छ। मैले पदक ल्याउन हरसम्भव प्रयास गर्नेछु,” उनले भनिन्।
अभिषेकको दोस्रो एसियाड
क्योरोगीका अभिषेक बराल पनि पदक जित्नेमा विश्वस्त छन्। यो उनको एसियाली खेलकुदमा दोस्रो सहभागिता हुनेछ।
“मेरो कमजोरीहरूलाई ध्यानमा राखेर अभ्यास गरिरहेको छु। विदेशी प्रशिक्षकले प्रशिक्षणलाई फरक बनाउनुभएको छ,” उनले भने।
नेपालले यसपटक वाइल्ड कार्डमार्फत एसियाडमा स्थान सुरक्षित गरेको हो। गत अगस्ट १ देखि ५ सम्म इन्डोनेसियामा भएको छनोट प्रतियोगितामा नेपालले अपेक्षाअनुसार प्रदर्शन गर्न नसके पनि वाइल्ड कार्ड पाएपछि सहभागिता निश्चित भएको हो।
छनोट प्रतियोगितापछि नेपाली टोलीले इन्डोनेसियामै अगस्ट ५ देखि १२ सम्म प्रशिक्षणसमेत गरेको थियो। वाइल्ड कार्डबाट प्राप्त अवसरलाई पदकमा बदल्ने लक्ष्य नेपाली टोलीको छ।
नेपालका लागि सफल खेल
तेक्वान्दो एसियाली खेलकुदमा नेपालका लागि सबैभन्दा सफल खेलमध्ये एक हो। नेपालले एसियाली खेलकुदमा जितेका २६ पदकमध्ये १४ पदक तेक्वान्दोबाट प्राप्त गरेको छ। यसमा एक रजत र १३ कास्य पदक छन्।
प्रशिक्षक खड्गीले यसपटकका खेलाडीमा पदक जित्ने क्षमता रहेको दाबी गरे।
“खेलाडीहरूमा सम्भावना छ। संघ पनि पदक ल्याउन लागिपरेको छ। हामीले कम्तीमा दुई खेल जित्यौँ भने पनि पदक नजिक पुग्छौँ। तयारीका लागि पर्याप्त समय मिलेको छ र अघिल्ला अनुभवले खेलाडीहरूलाई आत्मविश्वासी बनाएको छ,” उनले भने।
लामो समयदेखि एसियाडमा पदकविहीन रहेको तेक्वान्दो यसपटक भने युवा खेलाडीको आत्मविश्वास र लामो तयारीको बलमा पुरानो साख फर्काउने लक्ष्यमा छ। टोलीले आफ्नो अधिकतम क्षमता प्रदर्शन गर्दै पदक जित्ने लक्ष्य राखेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्