काठमाडौं । मोन्टी देसाईले क्यानडाको राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका छन्। उनले बिहीबार औपचारिक रूपमा राजीनामा बुझाएका हुन्।
देसाईले गत मे महिनामा क्यानडाको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए। उनको नेतृत्वमा क्यानडाले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत दुईवटा त्रिकोणात्मक शृंखला खेलेको थियो।
सामाजिक सञ्जालमार्फत देसाईले क्यानडा क्रिकेट संघले अन्तरिम प्रशिक्षकका रूपमा अवसर दिएकोमा धन्यवाद व्यक्त गरेका छन्। उनले आफ्नो कार्यकालमा साथ दिने खेलाडी तथा कर्मचारीप्रति समेत आभार प्रकट गरेका छन्।
यसअघि पनि देसाई सन् २०१९ मा क्यानडाको प्रशिक्षक बनेका थिए। पछिल्लो जिम्मेवारी उनको क्यानडामा दोस्रो कार्यकाल थियो। उनले यसअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई समेत प्रशिक्षण दिएका थिए।
देसाईको राजीनामापछि क्यानडा क्रिकेट संघले नयाँ मुख्य प्रशिक्षकको खोजी सुरु गरेको छ। संघले इच्छुक उम्मेदवारबाट आवेदन माग गर्दै आगामी अगस्ट २८ सम्मको समयसीमा तोकेको छ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ को अंकतालिकामा क्यानडा हाल २५ अंकसहित छैटौँ स्थानमा रहेको छ। यद्यपि, क्यानडा क्रिकेट संघ आईसीसीको निलम्बनमा छ। आईसीसीले गत मे महिनामा सदस्यतासम्बन्धी दायित्वको गम्भीर उल्लंघन गरेको भन्दै क्यानडालाई निलम्बन गरेको थियो।
संघ निलम्बनमा परे पनि क्यानडाको राष्ट्रिय टोलीले आगामी आईसीसी प्रतियोगितामा सहभागिता जनाउन पाउनेछ। तर, राष्ट्रिय टोलीको कार्यक्रम सञ्चालन तथा विकासका लागि प्राप्त हुने आईसीसीको आर्थिक सहयोग स्वीकृत कार्यक्रम र निश्चित मापदण्डअनुसार मात्र प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्