काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोविरुद्ध संगठनभित्रै असन्तुष्टि बढ्दै गएको छ । पछिल्लो समय विश्वकपको स्वामित्वको हिस्सा निजी लगानीकर्तालाई बिक्री गर्ने योजनालगायत विषयमा आलोचना खेपिरहेका इन्फान्टिनोविरुद्ध फिफाका अर्का उपाध्यक्ष पनि खुलेर उभिएका छन् ।
हंगेरी फुटबल संघका अध्यक्ष तथा फिफा परिषद्का सदस्य सान्डोर सानियीले इन्फान्टिनोको व्यावसायिक निर्णय क्षमता, नैतिक मापदण्ड र नेतृत्वमाथि प्रश्न उठाएका छन् । उनले इन्फान्टिनोलाई पठाएको पत्रमा उनीप्रतिको आफ्नो विश्वास कमजोर भएको उल्लेख गरेका छन् ।
सानियीले फिफाका प्रमुख सञ्चालन अधिकृत केभिन लामोरलाई अप्रत्याशित रूपमा बर्खास्त गरिएको घटनालाई आफ्नो धैर्य टुट्ने अन्तिम कारणका रूपमा उल्लेख गरेका छन् । विश्वकपको स्वामित्वको हिस्सा निजी लगानीकर्तालाई बिक्री गर्ने योजनाको विरोध गरेका लामोरलाई फिफाले यही साता बर्खास्त गरेको थियो ।
पत्रमा सानियीले फिफाको नेतृत्व प्रभावकारी रूपमा अघि बढाउन इन्फान्टिनो सक्षम छन् भन्ने आफ्नो विश्वासमा गम्भीर असर परेको बताएका छन् । उनले यस वर्षको विश्वकपका क्रममा भएका विभिन्न विवादास्पद निर्णयको विषयसमेत उठाएका छन् ।
इन्फान्टिनो सन् २०१६ मा सेप ब्लाटरलाई प्रतिस्थापन गर्दै फिफा अध्यक्ष बनेका थिए । पछिल्लो समय विश्वकपको स्वामित्वको हिस्सा बिक्री गर्ने योजनाका कारण उनीमाथि दबाब बढ्दै गएको छ ।
इन्फान्टिनोलाई पदबाट हट्न आग्रह गर्ने फिफाका आठ उपाध्यक्षमध्ये सानियी पाँचौँ व्यक्ति बनेका छन् ।
यसअघि यूईएफएका अध्यक्ष अलेक्जेन्डर सेफेरिन, कन्काकाफका अध्यक्ष भिक्टर मोन्टाग्लियानी, एसियाली फुटबल महासंघका अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफा तथा फुटबल एसोसिएसनकी अध्यक्ष डेबी हेविटले पनि इन्फान्टिनोप्रति आफ्नो असन्तुष्टि सार्वजनिक गरिसकेका छन् ।
फिफा नेतृत्वमा भने इन्फान्टिनोको समर्थनमा दक्षिण अमेरिकी फुटबल महासंघ (कोन्मेबोल)का अध्यक्ष अलेजान्द्रो डोमिन्गुएज, अफ्रिकी फुटबल महासंघका अध्यक्ष प्याट्रिक मोत्सेपे र ओसियाना फुटबल महासंघका लाम्बर्ट माल्टक रहेको जनाइएको छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्