काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ सिमराकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति विभिन्न थारु संघसंस्थाले गम्भीर आपत्ति जनाउँदै दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्।
साउन ३१ गते बिहान करिब ८ बजे आफ्नै घरबाट हराएकी बालिकाको बलात्कारपछि हत्या गरिएको भन्दै थारु संघसंस्थाले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका हुन्।
विज्ञप्तिमा बालिका हराएको जानकारी समयमै प्रहरी प्रशासनलाई गराउँदा पनि सुरक्षा निकायबाट ढिलासुस्ती तथा बेवास्ता भएको आरोप लगाइएको छ। प्रशासनको गैरजिम्मेवार प्रवृत्तिका कारण घटना थप जटिल र रहस्यमय बनेको थारु अधिकारकर्मीहरूको दाबी छ।
निष्पक्ष अनुसन्धानको माग
थारु संघसंस्थाले घटनाको सत्यतथ्य पत्ता लगाउन निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न सरकार तथा गृह प्रशासनसँग माग गरेका छन्।
घटनामा संलग्न दोषीको पहिचान गरी कानुनबमोजिम कडा कारबाही गर्नुपर्ने उनीहरूको माग छ। साथै, पीडित परिवारलाई उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरिएको छ।
बालिकामाथि भएको भनिएको जघन्य अपराधको निष्पक्ष अनुसन्धान र पीडित परिवारलाई न्याय दिलाउन राज्य गम्भीर रूपमा प्रस्तुत हुनुपर्ने उनीहरूले बताएका छन्।
Originally published on abcnews.com.np.






प्रतिक्रिया दिनुहोस्