काठमाडौं । लगातारको वर्षाका कारण म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडकखण्ड शनिबार बिहान पहिरो खसेपछि पूर्ण रूपमा अवरुद्ध भएका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीस्थित बेनी–जोमसोम सडकखण्डमा बिहान करिब ५ः३० बजे लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। पहिरोका कारण उक्त सडकखण्डमा सवारीसाधनको आवागमन पूर्ण रूपमा ठप्प भएको छ।
अवरुद्ध सडक खुलाउन आवश्यक उपकरण र जनशक्ति परिचालन गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।
त्यस्तै, मनाङको नासोँ गाउँपालिका–३ खोत्रोमा बिहान करिब ३ बजे पहिरो खसेपछि चामे–बेँसीसहर सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। पहिरोका कारण यातायात बन्द भएको र सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
सडक खुलाउन कठिन
लगातार वर्षा भइरहेका कारण पहिरो खस्ने क्रम नरोकिँदा अवरुद्ध सडक खुलाउन कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।
स्थानीय प्रशासन तथा सम्बन्धित निर्माण कम्पनीसँग समन्वय गरी दुवै सडकखण्ड यथासम्भव छिटो सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। वर्षाका कारण थप पहिरो तथा भूक्षयको जोखिम रहेकाले यात्रु तथा सवारीचालकलाई सावधानी अपनाउनसमेत आग्रह गरिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्