काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) शनिबार बिहान पोखराबाट मुस्ताङ यात्रामा निस्किएपछि नेपालको सबैभन्दा विशिष्ट र संवेदनशील हिमाली जिल्लामध्ये एक मुस्ताङ फेरि राष्ट्रिय चासोको केन्द्रमा आएको छ।
पर्यटनमन्त्री खड्गराज (गनेस) लाई समेत साथ लिएर मुस्ताङतर्फ उक्लिएका प्रधानमन्त्रीको भ्रमणलाई निजी भनिएको छ। तर, प्रधानमन्त्रीको भ्रमणसँगै मुस्ताङको ऐतिहासिक, धार्मिक र भू–राजनीतिक महत्त्वबारे बहस सुरु भएको छ।
भ्रमणको विस्तृत कार्यक्रम सार्वजनिक गरिएको छैन। प्रशासनिक तथा सुरक्षा निकायका अनुसार भ्रमणको आवश्यक प्रबन्ध नेपाली सेनाले मिलाएको छ।
प्रधानमन्त्रीको यात्रा केवल एउटा हिमाली पर्यटकीय गन्तव्यतर्फको निजी भ्रमणका रूपमा मात्र सीमित छैन। मुस्ताङ नेपालको त्यस्तो भूगोल हो, जहाँ हिन्दू र बौद्ध आस्था, तिब्बती सभ्यता, चीनसँगको सीमा, खम्पा विद्रोह, अमेरिकी गुप्तचर संस्थाको विगतको गतिविधि र आधुनिक व्यापारिक सम्भावनाहरू एउटै भूभागमा जोडिएका छन्।
मोदीदेखि बालेनसम्म : किन सबैको ध्यान मुस्ताङतर्फ?
प्रधानमन्त्री शाहको मुस्ताङ यात्रा स्वाभाविक रूपमा चर्चाको विषय बनेको छ। यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणले पनि मुस्ताङलाई अन्तर्राष्ट्रिय चर्चामा ल्याएको थियो।
२०७५ वैशाख २९ गते शनिबार भारतीय प्रधानमन्त्री मोदी मुक्तिनाथ मन्दिर पुगेका थिए। मन्दिरमा करिब २० मिनेट पूजाअर्चना गरेका मोदी मुक्तिनाथको धार्मिक वातावरणमा भावुकसमेत बनेका थिए।
त्यसबेला उनले मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीसँग आफू धेरै पहिले नै मुक्तिनाथ आएको प्रसङ्ग सुनाएका थिए।
मोदीले आफ्नो पहिलो औपचारिक नेपाल भ्रमणका क्रममा नेपाली संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै पनि आफू नेपालमा धेरै वर्षअघि एक साधारण पथिक र तीर्थयात्रीका रूपमा आएको बताएका थिए।
युवावस्थामा घरपरिवार छाडेर आध्यात्मिक यात्रामा निस्किएका मोदीको जीवनसँग मुक्तिनाथको सम्बन्ध रहेको चर्चा लामो समयदेखि हुँदै आएको थियो।
मोदीको मुक्तिनाथ भ्रमणले भारतमा समेत यस क्षेत्रको धार्मिक महत्त्वलाई थप चर्चामा ल्याएको थियो।
मुक्तिनाथ : हिन्दू र बौद्ध आस्थाको साझा केन्द्र
मुस्ताङको सबैभन्दा परिचित धार्मिक केन्द्र मुक्तिनाथ हो।
हिन्दू धर्मावलम्बीका लागि मुक्तिनाथ मोक्षसँग जोडिएको पवित्र तीर्थस्थल मानिन्छ। बौद्ध धर्मावलम्बीका लागि पनि यो क्षेत्र उत्तिकै महत्वपूर्ण छ।
हिमालको काखमा रहेको यो क्षेत्र धार्मिक आस्थाका कारण मात्र होइन, यसको भौगोलिक अवस्थिति र सांस्कृतिक विविधताका कारण पनि विशिष्ट छ।
स्वामी नारायणसँग मुक्तिनाथको धार्मिक सम्बन्ध जोडिने भएकाले भारतको गुजरातलगायत क्षेत्रमा पनि यस तीर्थस्थलप्रति विशेष आकर्षण रहेको बताइन्छ।
गुजरातमा स्वामी नारायण सम्प्रदायको व्यापक प्रभाव छ। त्यसैले पनि भारतीय धार्मिक पर्यटकका लागि मुक्तिनाथ प्रमुख गन्तव्य बनेको छ।
प्रत्येक वर्ष हजारौँ भारतीय तथा अन्य देशका तीर्थयात्री मोक्ष र धार्मिक आस्थाका लागि कठिन हिमाली यात्रा गर्दै मुस्ताङ पुग्छन्।
तर मुस्ताङ केवल धार्मिक यात्राको गन्तव्य मात्र होइन। यस क्षेत्रको माटोमा आधुनिक एशियाली राजनीतिको एउटा महत्वपूर्ण र गोप्य इतिहास पनि लुकेको छ।
तिब्बतमा चिनियाँ नियन्त्रणपछि सुरु भएको खम्पा प्रतिरोध
मुस्ताङको आधुनिक राजनीतिक इतिहासलाई बुझ्न तिब्बतको इतिहासबाट अलग गर्न सकिँदैन।
चीनले तिब्बतमाथि आफ्नो नियन्त्रण विस्तार गरेपछि त्यहाँ चिनियाँ शासनविरुद्ध सशस्त्र प्रतिरोध सुरु भयो। तिब्बतको पूर्वी क्षेत्रमा सक्रिय खम्पा समुदाय यस प्रतिरोधको प्रमुख शक्ति बन्यो।
खम्पा लडाकुहरूले चिनियाँ जनमुक्ति सेनाविरुद्ध संघर्ष गरे।
तर तिब्बतभित्र मात्र संघर्ष जारी राख्न कठिन भएपछि खम्पा लडाकुहरू क्रमशः हिमालय पार गर्दै नेपालका विभिन्न उत्तरी क्षेत्रमा प्रवेश गर्न थाले।
मुस्ताङ उनीहरूको सबैभन्दा महत्वपूर्ण आधार क्षेत्र बन्न पुग्यो।
त्यसपछि नेपालको यो दुर्गम हिमाली भूभाग अन्तर्राष्ट्रिय शक्ति संघर्षको एउटा अप्रत्यक्ष केन्द्र बन्न पुग्यो।
खम्पाहरूको गतिविधि केवल तिब्बती प्रतिरोधसम्म सीमित रहेन। शीतयुद्धको समयमा चीनविरुद्धको रणनीतिमा अमेरिकाले तिब्बती प्रतिरोध समूहलाई समर्थन गरेको विभिन्न ऐतिहासिक विवरणहरूमा उल्लेख पाइन्छ।
सीआईए, भारतीय गुप्तचर र खम्पा लडाकु
मुस्ताङको खम्पा इतिहाससँग अमेरिकी गुप्तचर संस्था सीआईए को नाम पनि जोडिन्छ।
नेपाली सेनाका पूर्वअधिकृत प्रेमसिंह बस्न्यातको पुस्तक नेप्लिज आर्मी इन टिबेटन खम्पा डिस्आर्मिङ मिसन मा उल्लेख भएअनुसार तिब्बती प्रतिरोध समूहलाई तालिम र अन्य सहयोग उपलब्ध गराउन अमेरिकाले विभिन्न संयन्त्रमार्फत काम गरेको थियो।
भारतको चक्रातामा ‘स्टाब्लिसमेन्ट २२’ नामक प्रशिक्षण संरचनासँग तिब्बती लडाकुहरूको सम्बन्ध रहेको विभिन्न विवरणमा उल्लेख गरिएको छ।
त्यस अवधिमा अमेरिकी र भारतीय रणनीतिक चासो तिब्बतमा चिनियाँ प्रभावलाई चुनौती दिने विषयसँग जोडिएको थियो।
खम्पा लडाकुहरूलाई तालिम, हतियार र आर्थिक सहयोग उपलब्ध गराइएको उल्लेख पाइन्छ।
नेपाल भने भौगोलिक रूपमा दुई विशाल शक्ति—भारत र चीन—को बीचमा थियो।
यही कारण नेपालभित्र विदेशी शक्ति र तिब्बती सशस्त्र समूहको गतिविधि बढ्नु काठमाडौँका लागि संवेदनशील विषय बन्न पुग्यो।
मुस्ताङ त्यसबेला केवल एउटा दुर्गम जिल्ला रहेन।
यो शीतयुद्धकालीन एशियाली शक्ति संघर्षसँग जोडिएको एउटा रणनीतिक भूगोल बन्यो।
मुस्ताङमा खम्पाका शिविर
खम्पा लडाकुहरूले मुस्ताङका विभिन्न स्थानमा आफ्ना शिविर स्थापना गरेका थिए। कागबेनी, थिनी, छुसाङ, समर, ढिलिङ, धामी, साम्दा, चराङ, पाङ्गाच्या र मुक्तिनाथलगायत क्षेत्रमा उनीहरूको गतिविधि रहेको विवरण पाइन्छ।
मनाङसम्म पनि खम्पा समूहको उपस्थिति फैलिएको थियो। मुस्ताङको कठिन भूगोल र तिब्बतसँगको निकटताले यस क्षेत्रलाई सशस्त्र समूहका लागि रणनीतिक रूपमा उपयुक्त बनाएको थियो।
हिमाल, गहिरा उपत्यका र सीमावर्ती बाटोहरूका कारण राज्यको पहुँच पनि त्यस समयमा सीमित थियो।
खम्पा लडाकुहरूले यही भूगोललाई आधार बनाएर तिब्बतसँग सम्बन्धित गतिविधि सञ्चालन गरेको इतिहास छ। उनीहरूका लागि आवश्यक सामग्री आकाशमार्फत आपूर्ति गरिएको विवरणसमेत विभिन्न ऐतिहासिक स्रोतमा उल्लेख पाइन्छ।
चीनको दबाब र नेपाली सेनाको अभियान
नेपालले लामो समयसम्म आफ्नो भूमिमा सक्रिय खम्पा समूहको गतिविधिलाई लिएर जटिल परिस्थिति सामना गर्नुपर्यो।
चीनले नेपालसँग आफ्नो भूभागबाट चीनविरुद्ध सशस्त्र गतिविधि हुन नदिन दबाब बढाउँदै गयो। अन्ततः नेपाल सरकारले खम्पा लडाकुहरूलाई निशस्त्रीकरण गर्ने निर्णय गर्यो।
२०३१ सालमा नेपाली सेनाले मुस्ताङ क्षेत्रमा खम्पा समूहविरुद्ध ठूलो अभियान सञ्चालन गरेको थियो। यो अभियान नेपालको राष्ट्रिय सुरक्षा र परराष्ट्र नीतिको दृष्टिले महत्वपूर्ण घटनाका रूपमा हेरिन्छ।
नेपालले आफ्नो भूमि कुनै पनि छिमेकी मुलुकविरुद्ध प्रयोग हुन नदिने नीति कार्यान्वयन गर्ने क्रममा खम्पा शिविरहरूलाई समाप्त पार्ने अभियान सञ्चालन गरेको थियो। अभियानपछि खम्पा विद्रोह क्रमशः कमजोर हुँदै गयो।
मनाङ हुँदै पश्चिमतर्फ सरेका खम्पा लडाकुहरूको अन्तिम समूह पनि नेपाली सुरक्षा कारबाहीपछि विघटन भयो। आज पनि मुस्ताङ र आसपासका केही क्षेत्रमा खम्पा विद्रोहसँग सम्बन्धित अवशेष र स्मृतिहरू भेटिने स्थानीय इतिहासमा उल्लेख छ।
कर्मापाको पलायन र कोरला नाकाको संवेदनशीलता
मुस्ताङको रणनीतिक महत्त्वलाई अर्को घटनाले पनि अन्तर्राष्ट्रिय रूपमा चर्चामा ल्यायो।
सन् १९९९ मा तिब्बती बौद्ध सम्प्रदायका प्रमुख धर्मगुरुमध्ये एक १७औँ ग्याल्वाङ कर्मापा ओर्गेन ठिन्ले दोर्जे तिब्बतबाट बाहिरिँदै नेपाल हुँदै भारत पुगे।
उनले प्रयोग गरेको मार्गमध्ये मुस्ताङको कोरला क्षेत्र पनि महत्वपूर्ण रूपमा चर्चामा आयो।
यस घटनापछि चीनले सीमावर्ती गतिविधिप्रति थप संवेदनशीलता देखाएको थियो।
मुस्ताङको कोरला नाका नेपाल र चीनबीचको महत्वपूर्ण स्थलमार्ग हो।
ऐतिहासिक रूपमा स्थानीय जनताको आवतजावत र व्यापारसँग जोडिएको यो नाका लामो समय विभिन्न राजनीतिक तथा सुरक्षा कारणले सीमित रह्यो।
नेपाल–चीन सम्बन्धमा सीमा व्यवस्थापन, व्यापार र सुरक्षा चासोका कारण कोरला नाका आज पनि रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण मानिन्छ।
व्यापारिक नाकाबाट रणनीतिक मार्गसम्म
मुस्ताङको कोरला नाका पछिल्ला वर्षमा व्यापारिक सम्भावनाका कारण पनि चर्चामा आएको छ।
चीनबाट विद्युतीय सवारीसाधनसहित विभिन्न सामान नेपाल भित्र्याउने वैकल्पिक मार्गका रूपमा यस नाकाको महत्त्व बढ्दै गएको छ।
परम्परागत रूपमा केरुङ र तातोपानीजस्ता नाकामा निर्भर नेपालको व्यापारका लागि कोरला नाका अर्को सम्भावित मार्ग हो।
तर यसको महत्त्व केवल व्यापारमा सीमित छैन।
नेपालको उत्तरी सीमा क्षेत्रमा रहेको प्रत्येक नाकाले भू–राजनीतिक अर्थ पनि राख्छ।
विशेष गरी तिब्बतसँग जोडिएको क्षेत्र भएकाले चीनको सुरक्षा चासो यहाँ प्रत्यक्ष रूपमा जोडिन्छ।
अमेरिका–चीन प्रतिस्पर्धा बढिरहेको वर्तमान अन्तर्राष्ट्रिय वातावरणमा तिब्बतसँग जोडिएका सीमावर्ती क्षेत्रप्रति चीनको संवेदनशीलता अझै उच्च रहेको विश्लेषकहरू बताउँछन्।
यस सन्दर्भमा मुस्ताङ नेपालका लागि धार्मिक, पर्यटकीय र आर्थिक गन्तव्य मात्र होइन, सावधानीपूर्वक व्यवस्थापन गर्नुपर्ने रणनीतिक भूगोल पनि हो।
निषेधित क्षेत्र र विदेशीको प्रवेश
उपल्लो मुस्ताङको ठूलो भूभाग विशेष अनुमति आवश्यक पर्ने क्षेत्रमा पर्छ। लोमान्थाङ, लो–घेकर दामोदरकुण्ड क्षेत्र तथा वारागुङ मुक्तिक्षेत्रका केही भागमा विदेशी नागरिकको प्रवेशका लागि विशेष अनुमति आवश्यक पर्ने व्यवस्था छ। यसको एउटा कारण क्षेत्रको विशिष्ट सांस्कृतिक तथा पुरातात्त्विक सम्पदा हो भने अर्को कारण सीमावर्ती क्षेत्रको सुरक्षा संवेदनशीलता पनि हो।
विदेशी पर्यटकका लागि सामान्य पर्यटक भिसा मात्र पर्याप्त नहुने र विशेष अनुमति लिनुपर्ने व्यवस्थाले मुस्ताङको विशिष्ट स्थिति देखाउँछ। यस क्षेत्रमा प्रवेशका लागि लाग्ने शुल्कसमेत अन्य पर्यटकीय क्षेत्रको तुलनामा बढी छ।
उपल्लो मुस्ताङ बौद्ध सभ्यता र हिमाली संस्कृतिको एउटा खुला संग्रहालयजस्तै देखिन्छ।
लो–घेकर गुम्बा, घमी क्षेत्रका गुम्बा, चराङका धार्मिक संरचना, चुङ्सी गुफा, लुरी क्षेत्रका गुफा तथा गुम्बा, यारा र ताङ्गे क्षेत्रका प्राचीन धार्मिक स्थलहरू यस क्षेत्रको सांस्कृतिक सम्पदाका महत्वपूर्ण हिस्सा हुन्।
लोमान्थाङको पुरानो दरबार, माटो र ढुंगाले बनेका गाउँ, सयौँ वर्ष पुराना गुम्बा र तिब्बती प्रभावयुक्त जीवनशैलीले मुस्ताङलाई नेपालका अन्य जिल्लाभन्दा भिन्न बनाएको छ।
मुस्ताङको सांस्कृतिक महत्त्व यहीँ समाप्त हुँदैन।
यहाँको भूगोलले हजारौँ वर्षदेखि हिमालय वारपारको व्यापार, धर्म र संस्कृतिलाई जोड्दै आएको छ।
प्रधानमन्त्रीको निजी यात्रा र राष्ट्रिय चासोको भूगोल
प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमणलाई सरकारले निजी भ्रमणका रूपमा व्याख्या गरेको छ। तर प्रधानमन्त्री जहाँ पुग्छन्, त्यहाँ राज्य र सार्वजनिक चासोको दृष्टि स्वाभाविक रूपमा जान्छ।
मुस्ताङको सन्दर्भमा यो चासो झन् फरक छ। यहाँ मुक्तिनाथ छ, जहाँ नेपाल र भारतका धार्मिक सम्बन्ध जोडिन्छन्।यहाँ तिब्बतसँग जोडिएको इतिहास छ।
यहाँ खम्पा विद्रोहको स्मृति छ। यहाँ शीतयुद्धकालीन अमेरिकी गतिविधिको इतिहास छ।
यहाँ नेपाल–चीन सीमाको संवेदनशीलता छ। र, यहाँ भविष्यको व्यापारिक मार्ग बन्न सक्ने कोरला नाका पनि छ।
प्रधानमन्त्रीको निजी यात्राले त्यसैले एउटा पुरानो प्रश्नलाई फेरि सतहमा ल्याएको छ— नेपालका दुर्गम हिमाली जिल्लाहरू केवल पर्यटकीय गन्तव्य हुन् कि तिनको महत्व धार्मिक र प्राकृतिक सौन्दर्यभन्दा धेरै गहिरो छ?
मुस्ताङको इतिहासले यसको जवाफ दिन्छ—यो जिल्ला केवल हिमाल र मरुभूमिको अनुपम दृश्य भएको ठाउँ मात्र होइन। यो दक्षिण एसिया, तिब्बत र चीनबीचको इतिहासलाई जोड्ने भूगोल हो। र आज प्रधानमन्त्री बालेनको मुस्ताङ यात्राले फेरि एकपटक त्यही भूगोललाई राष्ट्रिय बहसको केन्द्रमा ल्याएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्