काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै क्याप्सुलमा राखेर पेटभित्र लुकाइएको करिब १५० ग्राम सुनजस्तो धातु नेपाल भित्र्याएको आरोपमा पक्राउ परेका बंगलादेशी नागरिकको शरीरबाट पाँच दिनपछि उक्त धातु बरामद गरिएको छ।
३५ वर्षीय मोहम्मद रसेल हल्दारलाई शंकास्पद गतिविधिका आधारमा नियन्त्रणमा लिएपछि उनले करिब १५० ग्राम सुनजस्तो धातु क्याप्सुलमा राखेर निलेको बताएका थिए। त्यसपछि प्रहरीले उनलाई स्वास्थ्य परीक्षणका लागि काठमाडौं मेडिकल कलेज, सिनामंगल पुर्याएको थियो।
अस्पतालमा गरिएको एक्स–रे परीक्षणबाट हल्दारको पेटभित्र शंकास्पद धातु रहेको देखिएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ। स्वास्थ्यमा तत्काल कुनै गम्भीर समस्या नदेखिएपछि उनलाई आवश्यक कानुनी र स्वास्थ्यसम्बन्धी प्रक्रिया पूरा गर्दै चिकित्सकीय निगरानीमा राखिएको थियो।
शुक्रबार शौच गर्ने क्रममा उनको शरीरबाट क्याप्सुल आकारका दुई वटा पहेंलो धातु बाहिरिएको प्रहरीले जनाएको छ। ती दुई क्याप्सुलको कुल तौल करिब १५० ग्राम रहेको बताइएको छ।
बरामद भएको वस्तु देख्दा सुनजस्तो देखिए पनि त्यसको वास्तविक प्रकृति, शुद्धता र मूल्य भने प्राविधिक परीक्षणपछि मात्र निश्चित हुनेछ।
विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार हल्दारलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ।
अब धातुको परीक्षणमार्फत यो वास्तविक सुन हो वा अन्य कुनै धातु भन्ने यकिन गरिनेछ। साथै उक्त वस्तु कहाँबाट प्राप्त गरिएको थियो, दुबईबाट नेपालसम्म ल्याउने क्रममा अरू व्यक्ति वा तस्करी नेटवर्कको संलग्नता थियो कि थिएन र यसको अन्तिम गन्तव्य कहाँ थियो भन्ने विषयमा पनि अनुसन्धान अघि बढ्नेछ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विभिन्न तरिकाबाट सुन तथा बहुमूल्य धातु तस्करीका प्रयास भइरहेका बेला पेटभित्र क्याप्सुलमा लुकाएर करिब १५० ग्राम धातु ल्याइएको यो घटनाले विमानस्थल सुरक्षा र भन्सार निगरानीसम्बन्धी चुनौतीलाई फेरि उजागर गरेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्