काठमाडौं । शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा शुक्रबार बिहान भएको हत्याकाण्डमा नयाँ तथ्य बाहिर आएको छ । कुटपिटबाट मृत्यु भएका युवक र घटनामा संलग्नमध्ये एक जना अघिल्लो रात सँगै होस्टलबाट बाहिर गएको खुलेको प्रहरीले जनाएको छ ।
दाङको घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय वसन्त कालाथोकीको होस्टलभित्र कुटपिटबाट मृत्यु भएको थियो । प्रहरीका अनुसार कुटपिटमा संलग्न दुई जनामध्ये एक जना कालाथोकीसँगै ‘रमाइलो गर्न’ भन्दै बिहीबार राति होस्टलबाट बाहिरिएका थिए । उनीहरू मध्यरात वा शुक्रबार बिहान होस्टल फर्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनामा संलग्न भएको आरोपमा बारा, कलैया उपमहानगरपालिका–३ का १८ वर्षीय शेखर यादव र करिब २० वर्षीय प्रमित पटेल प्रहरी नियन्त्रणमा छन् ।
कालाथोकीको निधारमा चोट लागेको थियो । प्रारम्भमा धारिलो हतियार प्रहारबाट चोट लागेको हुनसक्ने आशंका गरिए पनि घटनास्थलबाट त्यस्तो हतियार फेला परेको छैन ।
जिल्ला प्रहरी परिसरका एसपी तथा प्रवक्ता दानबहादुर थापाका अनुसार चोट धारिलो हतियारबाट नभई होस्टेलमा रहेको टी–टेबल उचालेर प्रहार गर्दा लागेको हुनसक्ने सम्भावना पनि छ ।
होस्टेलका प्रत्येक कोठामा चारदेखि पाँच जनासम्म बस्ने गरेको प्रहरीले जनाएको छ । कालाथोकी र अर्का एक युवक बिहीबार राति एउटै कोठाबाट बाहिरिएका थिए । बिहान फर्किएपछि उनीहरूबीच कुनै विषयमा विवाद भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
कुटपिटका क्रममा कालाथोकीको निधारबाट रगत बगेपछि एक जनाले उनलाई सिभिल अस्पताल पुर्याएका थिए । प्रहरी घटनास्थल पुग्दा एक जना आरोपित त्यहीँ भेटिएका थिए भने अर्का अस्पतालबाट भाग्ने क्रममा पक्राउ परेका हुन् ।
घटनाको अनुसन्धान जारी
प्रहरीले घटनास्थलको निरीक्षण गरी थप प्रमाण संकलन गरिरहेको जनाएको छ । कुटपिटको वास्तविक कारण भने अझै खुल्न बाँकी छ । प्रारम्भिक अनुसन्धानमा प्रेम सम्बन्ध वा व्यक्तिगत रिसइबीका कारण विवाद भएको हुनसक्ने आशंका गरिएको प्रहरीले जनाएको छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्