तनहुँ,। तनहुँको ऋषिङ गाउँपालिका–१, बेतेनीस्थित सेती नदीमा डुबेको टिप्परका बेपत्ता चालकको पहिचान खुलेको छ। शनिबार नदीमा डुबेको अवस्थामा फेला परेको ना.१ क ७२४७ नम्बरको टिप्परका चालक रोल्पाको रुन्टीगढी गाउँपालिका–७ निवासी २७ वर्षीय प्रेमबहादुर खड्का रहेको प्रहरीले जनाएको छ।
तनहुँमा जलविद्युत् आयोजना निर्माणको काम गरिरहेको कालिका कन्स्ट्रक्सन प्रालिको उक्त टिप्पर सेती नदीमा डुबेको अवस्थामा फेला परेको हो। जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार चालक खड्का हालसम्म सम्पर्कविहीन छन्।
नदीको बहावका कारण खोजीमा कठिनाइ
प्रहरीका अनुसार बेपत्ता चालकको मोबाइल फोनसमेत बन्द रहेको छ। उनको खोजीका लागि प्रहरी टोलीले सेती नदी तथा आसपासका क्षेत्रमा खोजी कार्य जारी राखेको छ।
वर्षायामका कारण सेती नदीमा पानीको बहाव बढेकाले खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए।
“नदीमा पानीको बहाव धेरै भएकाले खोजी कार्य सहज छैन। प्रहरी टोलीले सम्भावित स्थानमा खोजी कार्यलाई निरन्तरता दिएको छ,” उनले भने।
स्थानीयले देखे टिप्परको ढाला
शनिबार दिउँसो करिब २ बजे स्थानीयवासीले नदीको बहावमा टिप्परको ढाला मात्र देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि घटनास्थल पुगेको प्रहरीले खोजी गर्दा टिप्पर नदीमा डुबेको अवस्थामा फेला पारेको थियो।
प्रहरीले घटनाबारे थप अनुसन्धान गर्दै बेपत्ता चालक खड्काको खोजी कार्य जारी राखेको जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्