काठमाडौं, भदौ ७ गते । ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयबाहिर धर्नामा बसेका लघुवित्त ऋणीहरू सरकारसँग १४ बुँदे सहमति भएपछि घर फर्किएका छन्।
सरकार र ऋणीका प्रतिनिधिबीच भदौ ६ गते सहमति भएपछि धर्ना कार्यक्रम स्थगित गरिएको थियो। सहमतिपछि सरकारले आइतबार बिहान साझा यातायातका बसको व्यवस्था गरी उनीहरूलाई आ–आफ्नो गन्तव्यतर्फ पठाएको हो।
विभिन्न सरकारी निकायका अधिकारीको उपस्थितिमा ३२३ जना ऋणीलाई आठवटा बसमार्फत बिदाइ गरिएको थियो। झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा र नवलपरासीलगायत जिल्लाबाट आएका ऋणीलाई सम्बन्धित जिल्लातर्फ पठाइएको हो।
१४ बुँदे सहमति
सरकार र ऋणीका प्रतिनिधिबीच भएको वार्तामा लघुवित्त संस्थाको ब्याजदर न्यूनीकरणलगायत विषयमा सहमति भएको जनाइएको छ। ऋणीहरूले लामो समयदेखि आफ्ना समस्या समाधानको माग गर्दै धर्ना दिँदै आएका थिए।
यद्यपि, सरकार र ऋणीका प्रतिनिधिबीच हस्ताक्षर भएको १४ बुँदे सहमतिको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन। सहमतिपछि ऋणीहरूले आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गरेका हुन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्