विराटनगर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीको स्वेच्छाचारी तथा अधिनायकवादी कार्यशैली रोक्न राष्ट्रपतिसँग समेत संवाद गर्ने बताएका छन् ।
प्रेस चौतारी मोरङले शनिबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले प्रधानमन्त्रीले संसदीय लोकतन्त्रका आधारभूत स्तम्भहरूको उपेक्षा गरेको र संसद्प्रति उत्तरदायी नबनेको आरोप लगाए ।
उनले लोकतन्त्र र संविधानको रक्षाका लागि संसद्भित्र र बाहिर रहेका संविधान निर्माता दलहरूसँग सहकार्यको प्रयास भइरहेको बताए । प्रधानमन्त्रीको कार्यशैलीलाई लोकतान्त्रिक बाटोमा ल्याउन आवश्यक सबै पक्षसँग संवाद गरिने उनको भनाइ थियो ।
पार्टीभित्र नेतृत्व परिवर्तनको विषयमा महासचिव पोखरेलले संस्थागत प्रक्रियाभन्दा बाहिरबाट नेतृत्व परिवर्तन गर्ने पक्षमा आफूहरू नरहेको स्पष्ट पारे । उनले सामाजिक सञ्जालको बहस, सार्वजनिक टीकाटिप्पणी वा बाहिरी छलफलबाट पार्टी नेतृत्व परिवर्तन नहुने बताए ।
नेतृत्व परिवर्तनबारे निर्णय गर्ने अधिकार केन्द्रीय कमिटीसँग रहेको उल्लेख गर्दै उनले महाधिवेशन कहिले गर्ने भन्ने निर्णय पनि पार्टीको केन्द्रीय कमिटीले नै गर्ने बताए । अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाउने पक्षमा आफूहरू नरहेको उनको भनाइ थियो ।
पार्टी पुनर्गठनमा एमाले
महासचिव पोखरेलले एमाले अहिले पार्टीलाई पुरानै अवस्थामा फर्काउने उद्देश्यसहित पुनर्संरचना र पुनर्गठनको प्रक्रियामा रहेको बताए ।
पार्टीमा रूपान्तरण आवश्यक रहेको स्वीकार गर्दै उनले जनतासँग टुटेको सम्बन्ध पुनः कसरी जोड्ने र कार्यकर्ताको गिर्दो मनोबल कसरी उठाउने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिए ।
उनका अनुसार पार्टीका समस्या समाधानका लागि कार्यदल गठन गरिएको छ । कार्यदलले तयार पार्ने प्रतिवेदनका आधारमा पार्टीभित्र देखिएका समस्या समाधान गरिने उनले बताए ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्