काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ ।
हाल देशभर साधारणतया बदली रहेको छ । कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ ।
तराईमा पनि वर्षाको सम्भावना
कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थान तथा मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
आज राति पनि देशभर साधारणतया बदली रहनेछ । हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुन सक्नेछ ।
बाढी–पहिरोको जोखिम, सतर्कता अपनाउन आग्रह
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन महाशाखाले सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्