काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डका लागि नासा सेक्युरिटीज कम्पनी लिमिटेडसँगको सहकार्यलाई निरन्तरता दिएको छ।
सम्झौतापत्रमा मञ्चका महासचिव अञ्जन खड्का र नासा सेक्युरिटीजका अध्यक्ष मदन पौड्यालले हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार नासा सेक्युरिटीजले अवार्डमा सहप्रायोजन गर्नेछ। मञ्चले नासालाई अवार्डको ‘स्टक ब्रोकरेज पार्टनर’का रूपमा प्रवर्द्धन गर्ने जनाएको छ।
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २३औँ संस्करण आगामी भदौ १८ गते आयोजना हुँदैछ।
पिपल्स च्वाइसको मनोनयन सार्वजनिक
नेपाली खेलकुदलाई उच्च स्थानमा पुर्याउने खेलाडी, प्रशिक्षक तथा खेलकर्मीलाई सम्मान र पुरस्कृत गर्दै आएको स्पोर्ट्स अवार्डअन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भइसकेको छ।
यस वर्ष फुटबलकी पूजा राना, मिक्सड मार्सल आर्ट्स (एमएमए) का रविन्द्र ढाँट, क्रिकेटका शेर मल्ल, भलिबलकी मिना सुनार र कराँतेकी सानुमाया थिङ मनोनयनमा परेका छन्।
मनोनयनमा रहेका खेलाडीलाई खल्ती वालेट, एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको फेसबुक पेज तथा पल्सर नेपालको फेसबुक पेजमार्फत मतदान गर्न सकिनेछ।
नौ विधामा पुरस्कार
अवार्डमा पिपल्स च्वाइससहित वर्षको उत्कृष्ट खेलाडी पुरुष, वर्षको उत्कृष्ट खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड गरी नौ विधा समावेश छन्।
पिपल्स च्वाइस, वर्ष खेलाडी पुरुष, महिला, प्रशिक्षक र युवा विधाका विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन्। अन्य विधाका विजेता तथा सम्मानित व्यक्तिलाई जनही १ लाख रुपैयाँ प्रदान गरिनेछ।
सहकार्यले अवार्डलाई थप व्यवस्थित बनाउने विश्वास
नेपाल खेलकुद पत्रकार मञ्चले नासा सेक्युरिटीजको निरन्तर सहयोगले अवार्डलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
नासा सेक्युरिटीजले यसअघि पनि एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा प्रायोजन गर्दै आएको थियो।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्