काठमाडौं । संघीय संसद्अन्तर्गत आज पाँचवटा संसदीय समितिको बैठक बस्दै छ। विभिन्न समितिमा पर्यटन विधेयक, मानव–वन्यजन्तु द्वन्द्व, पूर्वाधार विकास, सार्वजनिक–निजी साझेदारी, संक्रामक पशु रोग नियन्त्रण तथा खर्क नीतिसम्बन्धी विषयमा छलफल हुने कार्यसूची रहेको छ।
आज बैठक बस्ने समितिहरूमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति रहेका छन्।
पर्यटन विधेयकमाथि सरोकारवालासँग छलफल
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा ‘पर्यटन विधेयक, २०८१’ सम्बन्धमा नेपाल पर्वतारोहण संघलगायत सरोकारवाला निकायसँग छलफल गरिनेछ।
मानव–वन्यजन्तु द्वन्द्वको प्रतिवेदनमाथि बहस
कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान साढे ९ बजे बस्नेछ। बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा गठित मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदलले तयार पारेको प्रतिवेदन माथि छलफल हुने भएको छ।
छलफलका लागि कृषि, वन तथा पर्यावरणमन्त्री, मन्त्रालयका सचिव, प्राविधिक कार्यदलका प्रतिनिधि तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका संयोजकलाई बोलाइएको छ।
पूर्वाधार र सार्वजनिक–निजी साझेदारीमा छलफल
पूर्वाधार विकास समितिको बैठक बिहान १० बजे बस्नेछ। बैठकमा पूर्वाधार विकास तथा सार्वजनिक–निजी साझेदारी (पीपीपी) का विषयमा छलफल हुने कार्यसूची रहेको छ।
यसका लागि लगानी बोर्डको कार्यालयसहित नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ तथा नेपाल–इन्डिया चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका प्रतिनिधिलाई आमन्त्रण गरिएको छ।
संक्रामक पशु रोग नियन्त्रण विधेयकमाथि सैद्धान्तिक बहस
विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल गरिनेछ।
बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री, मन्त्रालयका सचिव तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिवलाई बोलाइएको छ।
खर्क नीतिमाथि विषयविज्ञसँग छलफल
यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो २ बजे बस्नेछ। बैठकमा विषयविज्ञ धनप्रसाद लामिछानेसँग खर्क नीति सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ।
यसरी आज संघीय संसद्का विभिन्न पाँच समितिमा पर्यटनदेखि वन्यजन्तु व्यवस्थापन, पूर्वाधार लगानी, पशु स्वास्थ्य र प्राकृतिक स्रोत व्यवस्थापनसम्मका महत्वपूर्ण विषयमा केन्द्रित भएर छलफल हुने भएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्