काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज सोमबार बस्दैछ। अपराह्न १ बजे बस्ने बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित विधेयकहरूलाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाउने प्रस्ताव प्रस्तुत हुने सम्भावित कार्यसूची रहेको छ।
सङ्घीय संसद् सचिवालयका अनुसार बैठकको सुरुआतमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यक्रम रहेको छ।
त्यसपछि प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
त्यस्तै, परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ माथि दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ लाई समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ माथि दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
आज पाँच संसदीय समितिको पनि बैठक
प्रतिनिधिसभाको बैठकसँगै आज सङ्घीय संसद्अन्तर्गतका पाँच संसदीय समितिको पनि बैठक बस्दैछ।
आज बैठक बस्ने समितिहरूमा—
- अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति
- कृषि तथा प्राकृतिक स्रोत समिति
- पूर्वाधार विकास समिति
- विधायन व्यवस्थापन समिति
- सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति
रहेका छन्।
संसद् सचिवालयका अनुसार विभिन्न विधेयक, सार्वजनिक नीति, पूर्वाधार विकास, पर्यटन तथा प्राकृतिक स्रोतसँग सम्बन्धित विषयमा ती समितिहरूमा छलफल हुने कार्यक्रम छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्