मकवानपुर। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको पक्षमा विश्वासको मत दिने भएको छ। नेकपाले मुख्यमन्त्री थापाको पक्षमा मतदान गर्न आफ्ना प्रदेश सभा सदस्यलाई ह्विप जारी गरेको हो। सोमबार विश्वासको मत लिने तयारीमा रहनुभएका मुख्यमन्त्री थापाको पक्षमा मतदान गर्न नेकपाले आफ्ना प्रदेश सभा सदस्यलाई सो निर्देशन दिएको हो।
नेकपा बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले भदौ ८ गते सोमबार दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा अनिवार्य उपस्थित भई विश्वासको मतको पक्षमा मतदान गर्न प्रदेश सभा सदस्यलाई ह्विप जारी गरिएको बताउनुभयो। प्रमुख सचेतक ढकालद्वारा जारी पत्रमा ‘प्रदेश सभाको १८औँ बैठकमा अनिवार्य उपस्थित भई विश्वासको पक्षमा मतदान गर्न दलका नेताको निर्देशनसहित उपस्थितिका लागि निर्देशन दिइएको’ उल्लेख छ।
यस्तै, सोही पत्रमा दलका नेता शालिकराम जम्कट्टेलले विश्वासको मतको पक्षमा मतदान गर्न अनिवार्य उपस्थितिका लागि निर्देशन (ह्विप) जारी गर्नुभएको पनि उल्लेख गरिएको छ। नेकपा, नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा एमालेका थापा मगरले भदौ ३ गते मुख्यमन्त्रीका लागि दाबी पेस गर्नुभएको थियो। त्यसपछि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले भदौ ४ गते उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गरी शपथ गराउनुभएको हो। नेपालको संविधानको धारा १८८ को उपधारा (४) तथा बागमती प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ बमोजिम मुख्यमन्त्री थापा मगरले विश्वासको मतको प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ। बागमती प्रदेश सभामा नेकपाका २६ जना प्रदेश सभा सदस्य रहेका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्