नयाँदिल्ली । एम्नेस्टी इन्टरनेसनलले भारतको नयाँदिल्लीस्थित जन्तरमन्तरमा भएको ‘जेनजी’ युवा तथा विद्यार्थीको प्रदर्शन र बिहारमा भएको आन्दोलनका क्रममा प्रहरी तथा सुरक्षा बलले अत्यधिक र गैरकानुनी बल प्रयोग गरेको दाबी गरेको छ ।
एम्नेस्टीले सोमबार सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनमा दिल्ली प्रहरी, र्यापिड एक्सन फोर्स (आरएएफ) र केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ) ले प्रदर्शनकारीमाथि पेलेट गन, अश्रुग्यास, लाठी तथा विद्युतीय झट्का दिने उपकरण प्रयोग गरेको उल्लेख गरेको छ ।
एम्नेस्टीको ‘एभिडेन्स ल्याब’ले जुलाई २० मा दिल्लीमा भएको ‘चलो संसद्’ मार्चका क्रममा खिचिएका १७ वटा भिडियोको प्राविधिक विश्लेषण गरेको थियो । त्यस्तै, जुलाई २४ मा बिहारको सिवानमा खिचिएका दुईवटा भिडियोको समेत विश्लेषण गरिएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनअनुसार दिल्लीको कनट प्लेस र संसद्मार्ग क्षेत्रमा आरएएफका सुरक्षाकर्मीले प्रदर्शनकारीतर्फ धातुका छर्रा प्रहार गरेको भिडियोबाट देखिएको छ । आठवटा भिडियोमा प्रहरी तथा आरएएफका सुरक्षाकर्मीले शान्तिपूर्ण प्रदर्शनकारी तथा भुइँमा लडेका व्यक्तिमाथिसमेत लाठीचार्ज गरेको देखिएको एम्नेस्टीको दाबी छ ।
एम्नेस्टीका अनुसार सादा पोसाकमा रहेका केही व्यक्तिले समेत प्रदर्शनकारीमाथि कुटपिट गरेका थिए । यद्यपि, भिडियो फुटेजबाट उनीहरूको स्पष्ट पहिचान हुन नसकेको जनाइएको छ । आरएएफका अधिकारीले विद्युतीय झट्का दिने ब्याटन प्रयोग गरेको दृश्यसमेत भिडियोमा देखिएको प्रतिवेदनमा उल्लेख छ ।
यसैगरी, बिहारको सिवानमा राज्य प्रहरीका अधिकारीले असल्ट राइफलबाट गोली चलाएको दृश्य भिडियो विश्लेषणबाट पुष्टि भएको एम्नेस्टीको दाबी छ । उक्त घटनामा गोली लागेर एक पैदलयात्रीसहित कम्तीमा तीनजना घाइते भएको जनाइएको छ ।
दिल्ली प्रहरीले भने एम्नेस्टीले लगाएको आरोप र पेलेट गन प्रयोग गरिएको दाबी अस्वीकार गर्दै आएको छ ।
एम्नेस्टीले भने प्रदर्शनकारीमाथि प्रहरी तथा सुरक्षा बलबाट भएको बल प्रयोगको निष्पक्ष र प्रभावकारी अनुसन्धान हुनुपर्ने माग गरेको छ । संगठनले सार्वजनिक गरेको भिडियो तथा प्राविधिक विश्लेषणले घटनाको अनुसन्धानका लागि पर्याप्त आधार प्रस्तुत गरेको दाबी गरेको छ ।
Originally published on abcnews.com.np.






प्रतिक्रिया दिनुहोस्