काठमाडौं । नेपाली स्क्वास खेलाडी आर्हन्त सिम्ह जापानमा हुने २०औँ एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गर्दै छन्। यो उनको तेस्रो एसियाड सहभागिता हो। यसअघि सन् २०१८ मा इन्डोनेसिया र सन् २०२३ मा चीनको हाञ्चाउमा भएको एसियाली खेलकुद खेलिसकेका उनी लगातार तीन संस्करणमा सहभागिता जनाउने पहिलो नेपाली स्क्वास खेलाडी बन्नेछन्।
पहिलोपटक एसियाड खेल्दा अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धा, खेलाडी र प्राविधिक पक्ष बुझ्ने अवसर मिलेको आर्हन्त बताउँछन्। अघिल्ला दुई संस्करणको अनुभवले यसपटकको प्रदर्शनमा सहयोग पुग्ने उनको विश्वास छ।
“अघिल्लो अनुभवले सहयोग त गर्छ नै,” उनले भने, “यो सहभागिता हाम्रो लागि महत्त्वपूर्ण हो। यो पदकका लागि सुरुआत हुन सक्छ। यस्ता प्रतियोगिताले पदक ल्याउने वातावरण बनाउँछ र खेलाडीको क्षमता विकास गर्छ।”
यसपटक नेपालले स्क्वासको मिक्स डबल्स स्पर्धामा सहभागिता जनाउँदै छ। आर्हन्तसँगै विपना ब्लोङले प्रतिस्पर्धा गर्नेछिन्। हाञ्चाउ एसियाड खेलेकी विपनाको यो दोस्रो एसियाड सहभागिता हो।
१२औँ र १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा कास्य पदक जितेकी विपनाले अघिल्लो अन्तर्राष्ट्रिय अनुभवले खेलको प्राविधिक पक्ष सुधार गर्न सहयोग पुगेको बताइन्।
“कसरी खेल्ने र कसरी खेल्दा सहज हुन सक्छ भन्ने कुरा अघिल्लो अनुभवबाट थाहा पायौँ,” उनले भनिन्, “यसपटक नतिजा राम्रो आउँछ जस्तो लाग्छ।”
पदक लक्ष्यसहित बन्द प्रशिक्षण
दुवै खेलाडी अहिले एसियाड तयारीका लागि बन्द प्रशिक्षणमा छन्। उनीहरू दैनिक दुई सिफ्टमा अभ्यास गरिरहेका छन्। नेपाली स्क्वास टोलीले सन् २०१८ देखि एसियाली खेलकुदमा नियमित सहभागिता जनाउँदै आएको छ र जापान एसियाड टोलीको तेस्रो सहभागिता हुनेछ।
मुख्य प्रशिक्षक हिराबहादुर थापाले अघिल्ला संस्करणको अनुभवका कारण यसपटक खेलाडीहरू थप आत्मविश्वासी र प्राविधिक रूपमा परिपक्व भएको बताए।
“खेल्ने त पदकका लागि नै हो,” उनले भने, “पहिला खेलेको अनुभव भएकाले खेलाडीहरूको ज्ञान बढेको छ। यस वर्ष राम्रो नतिजा आउनेमा हामी आशावादी छौँ।”
नेपाल स्क्वास संघका अनुसार राष्ट्रिय खेलकुद परिषद्ले उपलब्ध गराएको कोटाअनुसार यसपटक मिक्स डबल्समा सहभागिता जनाइएको हो। हाञ्चाउ एसियाडमा नेपालबाट चार तथा इन्डोनेसिया एसियाडमा पाँच खेलाडीले स्क्वासमा प्रतिस्पर्धा गरेका थिए।
पूर्वाधार र सामग्रीको अभाव
एसियाडको तयारी भइरहे पनि नेपाली स्क्वास टोली पर्याप्त पूर्वाधार र आवश्यक खेल सामग्रीको अभावसँग जुधिरहेको छ। संघले अहिले सीमित संरचनामा मिक्स डबल्सका लागि अभ्यास गरिरहेको जनाएको छ।
मुख्य प्रशिक्षक थापाका अनुसार एसियाडमा सहभागिता निश्चित भएपछि आवश्यक पूर्वाधार र सामग्री उपलब्ध गराउन राष्ट्रिय खेलकुद परिषद्लाई पत्राचार गरिएको थियो। तर हालसम्म कुनै ठोस जवाफ नआएको उनको गुनासो छ।
“एसियाड हुने निश्चित भएपछि हामीले आफ्नै तरिकाले तयारी सुरु गर्यौँ,” उनले भने, “हामीलाई आवश्यक सामग्रीहरूको सूची पनि परिषद्मा पठाएका थियौँ, तर हालसम्म जवाफ आएको छैन।”
मिक्स डबल्सका लागि आवश्यक पर्याप्त स्थान र उपयुक्त अभ्यासस्थलको समेत अभाव रहेको संघले जनाएको छ। प्रतियोगिताको प्रकृतिअनुसार उपयुक्त कोर्टमा केही दिन अभ्यास गर्ने व्यवस्था मिलाइदिन अनुरोध गरिए पनि त्यसमा पहल नभएको प्रशिक्षक थापाले बताए।
खेलाडीहरूले र्याकेटलगायत केही आवश्यक अभ्यास सामग्री आफ्नै खर्चमा जुटाइरहेको पनि उनको भनाइ छ।
परिषद्ले हाञ्चाउ एसियाडपछि सुरु गरेको मिसन–२०२६ कार्यक्रममा समेत स्क्वास समावेश नहुनुले खेलको दीर्घकालीन विकासप्रति थप प्रश्न उठेको संघको गुनासो छ।
पूर्वाधार र स्रोत–साधनको अभावका बाबजुद पनि आर्हन्त र विपनाले अघिल्ला दुई एसियाडबाट प्राप्त अनुभवलाई उपयोग गर्दै जापानमा नेपालको स्क्वासका लागि सुखद नतिजा ल्याउने लक्ष्य राखेका छन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्