काठमाडौँ । प्रतिनिधिसभाले चारवटा महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाएको छ। सोमबार बसेको प्रतिनिधिसभा बैठकले सैद्धान्तिक छलफल र प्राप्त संशोधन प्रस्तावमाथिको प्रक्रियापछि ती विधेयक समितिमा पठाउने निर्णय गरेको हो।
प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाका सर्त र सुविधा सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ समितिमा पठाउने प्रस्ताव बैठकले स्वीकृत गरेको छ।
त्यस्तै, परराष्ट्रमन्त्री शिशिर खनालले प्रस्तुत गरेको ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ पनि दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइएको छ।
महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षामन्त्री सीता वादीले प्रस्तुत गरेको ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले प्रस्तुत गरेको ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ लाई पनि प्रतिनिधिसभाले समितिमा पठाउने प्रस्ताव स्वीकृत गरेको हो।
प्रतिनिधिसभाको स्वीकृतिसँगै अब यी चारवटै विधेयकमाथि सम्बन्धित संसदीय समितिमा विस्तृत रूपमा दफावार छलफल हुनेछ। समितिको छलफलपछि आवश्यक संशोधनसहित विधेयकहरू पुनः प्रतिनिधिसभामा प्रस्तुत गरिनेछन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्