काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली गरी ल्याइएका मोबाइल, ल्यापटप तथा त्यसका पार्टपुर्जा, चुरोट र पहेँलो धातु बरामद गरिएको छ।
चाइना इस्टर्न एयरलाइन्सको उडानमार्फत नेपाल आएका चिनियाँ नागरिक छन् झुसनको साथबाट बिलबिजक नभएका मोबाइल, ल्यापटप, ल्यापटपका पार्टपुर्जा, डिस्प्ले, कभरलगायत सामग्री तथा चुरोट बरामद गरिएको हो।
अन्तर्राष्ट्रिय आगमन भन्सार क्षेत्रबाट बाहिरिने क्रममा शङ्का लागेर सोधपुछ तथा जाँच गर्दा ती सामग्री फेला परेको विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए।
प्रहरीका अनुसार बरामद सामग्रीको अनुमानित मूल्य करिब ७२ लाख २५ हजार रुपैयाँ रहेको छ।
सुनजस्तो पहेँलो धातुसहित एक जना पक्राउ
यसैबीच, दोहाबाट नेपाल एयरलाइन्समार्फत काठमाडौं आएका यात्रुलाई प्रयोग गरी सुन ओसारपसार भएको सूचनाका आधारमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ का ३५ वर्षीय कृष्ण यादव रहेका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय पार्किङ क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बाह्य मुलुकबाट आएका तीन जना यात्रुलाई प्रयोग गरी भन्सार छली ल्याइएको सुनजस्तो देखिने पहेँलो धातुका तीन थान सिक्री फेला परेको छ। सिक्रीको तौल करिब ७५ ग्राम रहेको बताइएको छ।
यस्तै, ती सामग्री ल्याइदिने व्यक्तिलाई ज्यालाबापत दिनका लागि राखिएको ३० हजार रुपैयाँसमेत यादवको साथबाट बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका यादवलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्