काठमाडौं । जनमत पार्टीले आगामी असोजमा हुने दोस्रो महाधिवेशनको तयारी तीव्र बनाएको छ। सोमबार बसेको पार्टीको केन्द्रीय सचिवालय समितिको बैठकले महाधिवेशनलाई लक्षित गर्दै विभिन्न संगठनात्मक निर्णय गरेको हो।
पार्टीकी राष्ट्रिय सचिव अनिताकुमारी मण्डलले जारी गरेको विज्ञप्तिअनुसार जनमत पार्टीको दोस्रो महाधिवेशन आगामी असोज ९ र १० गते आयोजना हुनेछ।
महाधिवेशनको तयारीस्वरूप पार्टीले देशभरका सम्पूर्ण वडा तथा पालिका अधिवेशन भदौ २१ गते आइतबारभित्र सम्पन्न गरी त्यसको विवरण केन्द्रीय सचिवालयमा पठाइसक्नुपर्ने निर्णय गरेको छ।
बैठकले भदौ मसान्तसम्म कायम रहेका सदस्यहरूको क्रियाशील सदस्यता कायम गर्ने निर्णय पनि गरेको छ। महाधिवेशनमा प्रतिनिधि बन्न तथा उम्मेदवार हुन सदस्यता नवीकरण अनिवार्य गरिएको पार्टीले जनाएको छ।
पार्टीका अनुसार आवश्यक शुल्क बुझाएर सदस्यता नवीकरण गरेका सदस्यहरूले मात्र महाधिवेशनमा सहभागिता जनाउन पाउनेछन्। सदस्यता नवीकरण नगर्ने सदस्य महाधिवेशनको प्रतिनिधि वा उम्मेदवार बन्न नपाउने व्यवस्था गरिएको छ।
महाधिवेशनसम्बन्धी थप रणनीति तथा अन्य विषयमा छलफल गर्न जनमत पार्टीले भदौ २२ गते सोमबार केन्द्रीय सचिवालय समितिको अर्को बैठकसमेत बोलाएको छ।
दोस्रो महाधिवेशनलाई पार्टीको संगठन विस्तार तथा आन्तरिक संरचना सुदृढीकरणसँग जोडेर तयारी अघि बढाइएको जनाइएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्